शुक्रबार, बैशाख ७, २०८१

एम्बुलेन्सको भाडाबारे माया नर्सिङ होमको अपिल

  
कर्णाली टाइम्स सोमवार, बैशाख २७, २०७८

सुर्खेत । माया नर्सिङ होम प्रालिले आइतबार एक अपिलमार्फत स्थापना कालदेखि नै सुर्खेतका साथै समग्र कर्णालीका जनतालाई सर्वसुलभ शुल्कमा स्तरीय र विश्वसनीय स्वास्थ्य सेवा दिँदै आएको जनाएको छ । कोभिड–१९ ले पारेको प्रभावमा समेत नर्सिङ होमले नागरिकको ज्यूज्यानलाई महत्व दिएर सेवा प्रदान गरिरहेको उसको भनाइ छ ।

शनिबारको दिन माया नर्सिङ होमको नाम जोडिएर एम्बुलेन्सले दोब्बर भाडा लिएको घटनामा समेत उसले नाम जोडिएको स्पष्ट पारेको छ । भे १ च १४५० नम्बरको एम्बुलेन्स माया नर्सिङ होम प्रालिको नाममा रहेको भए पनि २ वर्षअघि उक्त एम्बुलेन्स सेवा सञ्चालन र व्यवस्थापनको जिम्मा भेरीगंगा नगरपालिका–२ का पदम नेपालीलाई दिइएको र उक्त दिन एम्बुलेन्स चालकले सञ्चालक नेपालीलाई समेत ढाँटेर भाडा दोब्बर लिएको थाहा भएको अपिलमा उल्लेख छ । माया नर्सिङ होमको नाम जोडिएपछि कुरा बुज्दा चालकबाट बदमासी भएको पुष्टि भएको र त्यसपश्चात चालकलाई आवश्यक कारबाही प्रक्रिया थालिनुका साथै बिरामीसँग लिइएको भाडासमेत फिर्ता गर्न लगाइएको प्रालिका प्रवन्ध निर्देशक विष्णुबहादुर खखड्काले बताएका छन् । ‘माया नर्सिङ होमले एम्बुलेन्स सेवामा मात्र होइन, अन्य कुनै पनि स्वास्थ्य सेवामा नागरिकलाई तोकिएभन्दा बढी शुल्क नलिएको स्पष्ट पार्न चाहन्छौं,’ उनले अपिलमा भनेका छन्, ‘बरु सामाजिक उत्तरदायित्व बहन गर्दै सेवा शुल्कमा छुट दिइँदै आएको छ ।’

माया नर्सिङ होमद्वारा जारी अपिल