आइतवार, असोज १०, २०७८

एसईई र कक्षा १२ को परीक्षा स्थगित

  
कर्णाली टाइम्स सोमवार, बैशाख २७, २०७८
प्रतिकात्मक तस्विर

सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।
एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो।
आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो।
अध्यक्ष पौडेलका अनुसार गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने छैन।
‘कोरोना कम भएपछि परीक्षा नै गर्ने हो गत वर्षको जस्तो आन्तरिक मूल्यांकनबाट यसपटक परीक्षा हुँदैन,’ उनले भने। यसपटक एसईई दिने विद्यार्थी पाँच लाखभन्दा बढी छन्।
गत वर्ष कक्षा १२ को परीक्षा भने भौतिक रूपमै विद्यार्थी उपस्थित भएर गरिएको थियो। सेतोपाटी