बिहीबार, बैशाख ६, २०८१

कर्णालीका कुनकुन आयोजना समेटिए ०७९/८० को संघीय बजेटमा?

डोल्पाको डोल्पोबुद्ध, हुम्लाको लिमी र हिल्सामा व्यवस्थित हिमाली शहर बनाउन सम्भाव्यता अध्ययन गरिने

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १६, २०७९


सुर्खेत। नेपाल सरकारले आर्थिक बर्ष २०७९/८० को बजेट ल्याएको छ। संघीय सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएको छ। जसमध्ये चालु खर्चतर्फ साढे ७ खर्ब छ।
संघको आगामी आर्थिक बर्षको बजेटले कर्णालीका केही महत्वपूर्ण आयोजनासँगै कृषि, खेलकुद लगायतका कार्यक्रमहरु समावेश गरिएको छ।
सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाउने योजना बजेटमा समावेश गरिएको छ। जुन आयोजनालाई केही दिनअघि बसेको मन्त्रिपरिषद् वैठकले सैद्धान्तिक स्वीकृति दिएको थियो।
रुकुम पश्चिमको चौरजहारी विमानस्थलको स्तरोन्नतिसँग हवाई सेवा निरन्तर गर्ने, सुर्खेतमा बहुउद्देश्यीय तालिम केन्द्र स्थापना गर्ने आयोजना यसपटकको संघीय बजेटमा समावेश गरिएको छ।
सुर्खेेतको गुर्भाकोट नगरपालिकामा निर्माणाधीन सुभाघाट खानेपानी आयोजना आगामी आर्थिक बर्ष सम्पन्न गर्ने घोषणा बजेटमा गरिएको छ।
जलविद्युतर्फ जाजरकोटको नलगाड जलविद्युत आयोजनाको लागि स्रोत व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने, फुकोट कर्णाली र जगदुल्ला जलविद्युत आयोजनालाई आगामी आर्थिक बर्षभित्र कार्यान्वयनमा लगिने, बेतान कर्णाली जलविद्युत आयोजनाको लागि खरिद प्रक्रिया अगाडि बढाउने बजेटमा उल्लेख गरिएको छ।
भेरीबबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट पानी डाईभर्सन र विद्युत गृह निर्माणको काम आगामी आर्थिक बर्षबाट तिव्र गतिमा अघि बढाउने घोषणा गरिएको छ।
मध्यपहाडी लोकमार्गदेखि जुम्ला, रारा र लिमीसम्म जोड्ने पर्वतीय मार्ग निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्ने, मदन भण्डारी राजमार्ग निर्माणमा थप बजेट उपलब्ध गराउने, कर्णाली कोरिडोरका लागि बजेट उपलब्ध गराउने, हुम्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न थप बजेट व्यवस्थापन गर्ने, भेरी करिडोरअन्गर्त जाजरकोट, डोल्पा दुनै, तिन्जे धोसम्म जोड्ने सडक निर्माणमा बजेट व्यवस्थापन गर्ने, जाजरकोटको व्याउलीढुंगा र सुर्खेतको रानीघाटदेखि बर्दियाको भुरीगाउँसम्मको सुरुङका लागि सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ।
जुम्लाको टोप्ला पाटनमा हाई अल्टिच्युट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाईने छ।
डोल्पाको डोल्पोबुद्ध, हुम्लाको लिमी र हिल्सामा व्यवस्थित हिमाली शहर बनाउन सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख छ।
मुगु, जुम्ला, कालीकोट लगायत जिल्लाका खाद्य संकटमा भएका कृषकको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, कर्णालीमा उत्पादन हुने जैवीक तथा रैथाने बालीको संरक्षण गर्न कार्यक्रम सञ्चालन गर्ने, कर्णालीमा पाईने जडीबुटी प्रशोधनका लागि सुर्खेतमा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, सिमी, फापर, मार्सीको उत्पादन गरी निर्यात गर्न प्रोत्साहन गर्ने योजना पनि ०७९/८० को संघीय बजेटमा समावेश गरिएको छ।
कर्णालीमा पाईन किम्मती र अर्धकिम्मती पत्थरको प्रशोधनका लागि सुर्खेतमा प्रशोधन उद्योग स्थापना, डोल्पाको तिञ्जे धोमा सुख्खा बन्दरगाह स्थापनाको सम्भाव्यता अध्ययन गर्ने बजेटमार्फत घोषणा गरिएको छ।