शुक्रबार, बैशाख ७, २०८१

यी हुन् समानुपातिक प्रणालीबाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित १६ सांसद

  
कर्णाली टाइम्स बिहीबार, मंसिर २९, २०७९


सुर्खेत। समानुपातिक प्रणालीमार्फत् निर्वाचित हुने कर्णाली प्रदेश सभाका १६ जना सदस्यको टुंगो लागेको छ। दलहरुले आफूले पाएको मतका आधारमा निर्वाचन आयोगलाई प्रदेश सभामा चयन हुने १६ जनाको नाम अन्तिम सिफारिस गरेका थिए।
कर्णाली प्रदेशमा कुल समानुपातिक सांसदमध्ये नेपाली काँग्रेस र नेकपा एमालेले ५र५ सांसद पाएका छन्। नेकपा माओवादीले ४ र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले १र१ सांसद पाएका छन्।
नेकपा एमालेबाट हुम्लाका कलबहादुर हमाल पिछडिएको क्षेत्रबाट सांसद चयन भएका छन्। यस्तै महिला खस आर्यतर्फ कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, दलित महिला तथा पिछडिएको क्षेत्रबाट दैलेख आठबिस नगरपालिकाकी गमता विक र आदिवासी जनजातीबाट सुर्खेतकी नन्दा गुरुङलाई एमालेले प्रदेश सभा सदस्य बनाएको छ।
नेपाली काँग्रेसबाट आदिवासी जनजातितर्फ सुर्खेतकी बलिमाया बुढा, खस आर्य महिलाबाट सुर्खेतकै जानकी सिंह र हुम्लाकी विजया बुढा पिछडिएको क्षेत्रबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी इन्द्रकुमारी शाही र महिला दलितबाट सल्यानकी लक्ष्मी सुनार कर्णाली प्रदेश सभा सदस्य बनेका हुन्।
नेकपा माओवादी केन्द्रबाट आदिवासी जनजाति र पिछडिएको क्षेत्रबाट हुम्लाकी जुम्कित लामा कार्की, खस आर्य महिलातर्फ कालिकोटकी यशोदा न्यौपाने र रुकुम पश्चिमकी मिलन खड्का रोका र दलिततर्फ डोल्पाकी उर्मिला विक कर्णाली प्रदेश सभा सदस्य बनेका छन्।
नेकपा (एस) बाट महिला खस आर्यतर्फ रुकुम पश्चिमकी कल्याणी खड्का समानुपातिक प्रणालीबाट सांसद बनेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकमा खस आर्यतर्फ सुर्खेतकी सन्तोषी शाही कर्णाली प्रदेश सभा सदस्य बनेकी छन्।
प्रत्यक्षतर्फ कर्णाली प्रदेश सभामा राप्रपा र नेकपा (एस) ले एउटा पनि सिट जितेका छैनन्।
प्रत्यक्षतर्फका २४ सिटमध्ये नेकपा माओवादी र नेपाली काँग्रेसले ९र९ सिट जितेका छन्। एमालेले पाँच र स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन्।
कर्णाली प्रदेशमा खसेको कुल समानुपातिक मतमध्ये ५ लाख ७७ हजार ८२९ मतमात्र सदर भएको थियो। जसमध्ये नेकपा एमालेले १ लाख ८३ हजार ९९० मत प्राप्त गरेको छ भने काँग्रेसले १ लाख ७० हजार ७५६ मत प्राप्त गरेको छ।
नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ। नेकपा एकीकृत समाजवादीले ३६ हजार ८२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ मत प्राप्त गरेका छन्।