आइतवार, मंसिर ३०, २०८१

‘निजी बैंकले ऋण दिँदा कमिसन खान्छन्’

कर्णाली प्रदेशमा सबैभन्दा बढी सेवाग्राही भएको राष्ट्रिय वाणिज्य बैंकको प्रदेश कार्यालय स्थापना भएको छ ।

  
कर्णाली टाइम्स शुक्रबार, पुस १८, २०७६

कार्यक्रममा एउटै मञ्चमा बसेका थिए– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले निकै गंभीर कुरा उठाए । उनले भने, ‘निजी क्षेत्रका बैंकले ऋण दिँदा व्यापारीसँग हाक्काहाक्की ‘कमिसन’ माग्छन्, यसको अन्त्य कहिले हुने ?’

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालय उद्घाटनको अवसरमा शुक्रबार रावत वीरेन्द्रनगरमा बोल्दै थिए । निजी बैंकहरुको यस्तो प्रवृत्तिविरुद्ध आन्दोलन गरे पनि कुनै सुनुवाइ नभएको उनले बताए । ‘मुख्यमन्त्री ज्यू र मन्त्री ज्यू यहिँ हुनुहुन्छ, यसबारे चासो दिएर अध्ययन–छानबिन गरिदिनुप¥यो,’ उनले भने, ‘हामी त बैंकलाई कमिसन दिँदादिँदा हुक्क भइसक्यौं ।’

यसबैबीच, राष्ट्रिय वाणिज्य बैंकले सुर्खेतमा प्रदेश कार्यालय स्थापना गरेको छ । बैंकको शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे । मुख्यमन्त्री शाहीले राष्ट्रिय वाणिज्य बैंकजस्तो सरकारी स्वामित्वको बैंकले मुनाफामात्र भन्दा पनि जनताको भलाइको लागि पनि आप्mनो ध्यान केन्द्रित गर्नुपर्ने बताए । ‘यो एउटा सरकारी बैंकसमेत भएकोले जनतालाई कसरी उनीहरुको आयस्तर बढाउने भन्ने हेतुले सेवा प्रवाह गर्नु दायित्व हो,’ उनले भने, ‘हिजोको भन्दा अझ व्यवस्थित तरिकाले गर्नुपर्छ ।’ राष्ट्रिय वाणिज्य बैंकले निजी बैंकको भन्दा अझ राम्रो सेवा प्रवाह गर्नुपर्ने उनले बताए ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्र्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य बैंकले प्रदेशको सबैभन्दा बिकट क्षेत्र मानिने डोल्पा र मुगुका स्थानीय तहमा शाखा खोलेर प्रशंनीय काम गरेको बताए । उनले अब बिपन्नको हितमा अधिकतम रुपमा सहुलियत ऋण प्रवाह गरिनुपर्ने र त्यसको प्रभावकारी प्रभावकारी अनुगमन हुनुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले राष्ट्रिय वाणिज्य बैंकले समय अनुकूल आप्mना सेवालाई प्रभावकारी र जनमुखी बनाउनुपर्ने सुझाव दिए ।

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समिति अध्यक्ष निर्मलहरि अधिकारीले बैंकलाई कर्णालीका बिकट बस्तीमा पु¥याउन विशेष ध्यान दिइने बताए । बैंकका कर्णाली प्रदेश कार्यालय प्रमुख रामकुमार थापाका अनुसार कर्णाली प्रदेशभर हाल १८ वटा शाखा रहेका छन् । निकट भविष्यमै रुकुम पश्चिमको मुसीकोट, सल्यानको खलंगा र सुर्खेतको वीरेन्द्रनगरमा शाखा बिस्तार गरिने जानकारी दिए । उनका अनुसार अहिले कर्णाली प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकका १ लाख ९८ हजार सेवाग्राही रहेका छन् । यो कर्णाली प्रदेशमा सबैभन्दा ठूलो प्रभाव भएको बैंक हो ।