आइतवार, जेष्ठ ६, २०८१

पुस्कल, जसको हातमा सरस्वतीको बास छ

  
जगतदल जनाला विक सोमवार, माघ १३, २०७६

सुर्खेतको चौकुने गाउँपालिका–२, लगामका पुस्कल पौडेललाई मूर्तिकलासम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मूर्तिहरु बनाउनका लागि पुस्कलसँग कुनै प्रविधिको साथ र साधनहरु पनि छैनन् । तर, उनले बनाएका निकै सुन्दर र कलात्मक मूर्तिहरु देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवीदेवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मूर्ति बनाउने पुस्कलको कलाले जिल्लामा मात्र होइन, अन्य प्रदेशमा पनि सबैलाई मोहित पारेको छ । सानैदेखि चित्रकला र मूर्तिकलामा निकै रुची भएका पुस्कल अहिले अब्बल मूर्तिकारको रुपमा परिचित हुँदै गएका छन् ।


सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा र आफ्नै घरको आँगनमा उनले बनाएका मूर्ति हेर्नेको पनि घुइँचो लाग्ने गरेको छ । उनले देवीदेवताका साथै जनावर, मान्छेका मूर्ति पनि आकर्षक र दुरुस्त बनाउने गर्छन् ।
३१ वर्षीय पौडेल कुनै साधन र सैद्धान्तिक ज्ञान बिना नै मूर्ति बनाउँछन् । उनले भारतको सिम्लामा भारी बोकेर कमाएको १५ हजार रुपैयाँबाट मूर्ति बनाउने कामको सुरु गरेका थिए । पहिला–पहिला कसैले अर्डर गरेमात्र मूर्ति बनाउने गरेका पुस्कल पौडेललाई अहिले मूर्ति बनाउनका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँहरुमा बोलाउने गरिन्छ । ‘आफ्नै मेहनतले सिम्लामा भारी बोकेको पैसा १५ हजारबाट यो व्यवसाय गर्न लागें,’ उनले भने, ‘अहिलेसम्म कसैको सहयोग पाएकै छैन, कतैबाट सहयोग पाएँ भने व्यावसायिक रुपमै मूर्ति निर्माण उद्योग सुरु गर्ने इच्छा छ ।’


उनले ४ वर्षअघि पहिलोपटक चौकुने गाउँपालिका–१ स्थित सेती कर्णाली दोभान बेनिघाटका लागि शिव भगवान र साँढेको मूर्ति बनाएका थिए । उनले अहिले कैलाली, डोटी, बाँके, काठमाडौं, पोखरा सुर्खेत र दैलेखमा विभिन्न मन्दिरका लागि सयौं मूर्तिहरु निर्माण गरिसकेका छन् ।


घरेलु श्रोत–साधनको प्रयोग गर्दै निकै सस्तोमा मूर्ति बनाउने पुस्कल राम्रो अवसर पाए आफूभित्रको ज्ञानलाई दुनियाँको अघि फैलाउने र बेरोजगारी भएर विदेशीने युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न निःशुल्क सिप सिकाउने धोको रहेको बताउँछन् । घरको निम्न आर्थिक अवस्थाका कारण १० कक्षामै पढाइ छाडेका पौडेल एउटा मूर्ति बनउन आकार हेरी ५ देखि ५० दिन लगाउँछन् । मिहिनेतसाथ बनाएको मूर्तिको उनी १५ हजारदेखि एक लाखसम्म पारिश्रमिक लिन्छन् । ‘आप्mनो दुःख हेर्ने हो भने त यो केही पनि होइन,’ उनले भने, ‘तैपनि जीवन धान्नको लागि पैसा लिने गरेको छु ।’


पुस्कललाई सरकारले उचित अवसर दिएर सहयोग गर्नुपर्ने स्थानीयको भनाइ छ । चौकुने गाउँपालिका–२ का युवा हरिश्चन्द्र भण्डारी राम्रो अवसर पाए पुस्कलमा चमत्कारिक कला देखाउन सक्ने सम्भावना रहेको बताउँछन् । ‘सरकारले विभिन्न युवालक्षित कार्यक्रम त ल्याउँछ, तर वास्तविक उद्यम गर्ने युवासम्म पुग्ने गरेको छैन,’ उनले भने, ‘पुस्कलजस्ता थुप्रै युवाहरु छन्, तिनीहरु सहयोग नै नपाएर बाहिर आउन सकेका छैनन् ।’