शुक्रबार, बैशाख २१, २०८१

वडाध्यक्षदेखि नगरपालिकासम्मको मिलेमत्तो

  
कर्णाली टाइम्स सोमवार, माघ २७, २०७६

सुर्खेत, २६ माघ ।
एउटै प्रश्नपत्रमा दुई विद्यालयको परीक्षा लिएर शिक्षक नियुक्तिमा वडाध्यक्ष र नगरपालिकाको प्रत्यक्ष संलग्नता देखिएको छ । पुस आठ गते पञ्चपुरी–१० जनज्योति माध्यमिक विद्यालयमा पुस १५ गते पञ्चपुरी–८ को शिद्धेश्वरी माध्यमिक विद्यालयमा अंग्रेजी विषय शिक्षकका लागि परीक्षा भएको यियो । दुबै परीक्षामा एउटै प्रश्नपत्र दिइएको थियो । यि दुबै परीक्षामा सम्वन्धीत वडाका वडाध्यक्षदेखि नगरपालिकाका कर्मचारी र पदाधिकारीहरुको संलग्नता देखिएको हो ।

दुई विद्यालयमा अंग्रेजी विषयको परीक्षाका लागि एउटै प्रश्नपत्र प्रयोग गरिएपछि परीक्षामा सहभागी रुपेन्द्र यादवलगायतले पुनः परीक्षाको माग गर्दै नगरपालिकामा निवेदन दिएका थिए । उनको निवेदनपछि नगरपालिकाका सुचना अधिकारी चुडामणि कँडेलको संयोजकत्वमा हरिहर बयक र गणेश अधिकारी सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन भएको थियो । छानविन समितिले उजुरीकर्ता यादवले दिएको उजुरी फिर्ता लिएको, एउटै प्रश्नपत्र हो भन्ने पुष्टि नभएकोलगायतका कारणसहित प्रतिवेदन बुझायो । दुई विद्यालयमा फरक फरक समयमा भएको परीक्षामा एउटै प्रश्नपत्र हुनुमा पञ्चपुरी¬ ८ का वडाध्यक्ष एवम् शिद्धेश्वरी माविका अध्यक्ष भक्तिप्रसाद पौडेलको प्रत्यक्ष संलग्नता देखिन्छ ।

टिकाराम बास्तोला एक हप्ता अघि परीक्षा भएको जनज्योति माविमा पनि विषय विज्ञका रुपमा नै थिए । वडा अध्यक्षको योजना अनुसार नै बास्तोलालाई शिद्धेश्वरीमा भएको परीक्षाको विषय विज्ञका रुपमा ल्याइएको थियो ।

‘प्रश्नपत्र एउटै भन्ने निवेदक रुपेन्द्र यादवको निवेदनमा दावी गरिएको नदेखिएपछि अध्ययनबाट प्रश्नपत्र एउटै भएको पुष्टि भएन, त्यसमाथि पनि निवेदकले निवेदन फिर्ता लिएपछि यो कार्यलाईलाई अगाडी बढाई रहन परेन्,’ छानविन समितिका संयोजक चुडामणि कँडेलले भने, ‘त्यो विषयमा थप अनुसन्धान गरिरहनु परेन् ।’
प्रश्नपत्र बनाउँदा आर्थिक वर्षको सुरुमा विज्ञहरुबाट शिक्षा शाखाले खामबन्दीरुपमा प्रश्नपत्र माग्दा प्राविधिक समस्या विज्ञबाट भएपछि शिक्षा शाखालाई त्यो प्रश्न उठेको कँडेलले बताए । उनका अनुसार अबका दिनदेखि प्रश्नपत्र बनाउँदा विज्ञहरुलाई सचेत गराउने नगरपालिकाले निष्कर्ष निकालेको छ ।

दुबै विद्यालयमा विज्ञ एउटै

शिद्धेश्वरी माध्यामिक विद्यालयमा भएको शिक्षकको परीक्षामा पञ्चपुुरीमै रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक टिकाराम बास्तोला र जनता माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक लालबहादुर राना विषयविज्ञका रुपमा थिए ।

टिकाराम बास्तोला एक हप्ताअघि परीक्षा भएको जनज्योति माविमा पनि विषय विज्ञका रुपमा नै थिए भने शिद्धेश्वरीमा पनि विज्ञका रुपमैं थिए । वडा अध्यक्षको योजना अनुसार नै बास्तोलालाई शिद्धेश्वरीमा भएको परीक्षाको विषय विज्ञका रुपमा ल्याइएको थियो । यसरी दुवै विद्यालयमा एउटै प्रश्नपत्र हुनुमा सोही प्रश्नपत्रमा परीक्षा भएको विद्यालयको विषय विज्ञलाई अर्को विद्यालयमा ल्याउनु देखिन्छ ।

शिद्धेश्वरीमा भएको शिक्षकको परीक्षामा रुपेन्द्र यादव, भुवन तिवारी र सुरेन्द्र वाग्लेले परीक्षा दिएका थिए । तीमध्येबाट सुरेन्द्र वाग्ले छनोट पास भए । उक्त नतिजा आएपछि छनोट भएका वाग्लेका प्रतिस्पर्धी रुपेन्द्र यादवले भोलीपल्ट मा प्रश्नपे एउटै भएको थाहा पाए ।
पञ्चपुरी नगरपालिका नगर शिक्षा शाखाले तयार पारेको ६० यपूर्णाङ्कको प्रश्नपत्रमा भएका ६ वटा प्रश्नहरु हुबहु मिलेका थिए । परीक्षा अमर्यादित र नीतिविपरित भएको भन्दै शिक्षा शाखा पञ्चपरीमा पुनः परीक्षा गराईपाउँ भनी निवेदन दिएका रुपेन्द्र यादवले भने आफुलाई केहि संकट परेका कारण निवेदन फिर्ता गरेको कर्णाली टाइम्सलाई बताएका छन् ।

वडा अध्यक्ष तथा शिद्धेश्वरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्ति पौडेलले भने शिक्षकलाई नियुक्ति दिई अध्यापन गर्न लगाएका छौं,’ उनले भने, विद्यालयमा शिक्षक चाहिएपछि आवेदन लिई विधिगत रुपमै छनोट गरेका हौं ।’

विद्यालय निरीक्षकविनै परीक्षा

विद्यालयहरुमा शिक्षकको परीक्षाका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा, विद्यालयको प्रधानाध्यापक सदस्य सचिव, विद्यालय निरीक्षकसहित ३ जनाको समिति हुने प्रावधान शिक्षा नियमावलीमा छ ।

नियमावलीमा यस्तो व्यवस्था उल्लेख भए पनि पञ्चपुरीको शिक्षा शाखा र शिद्धेश्वरी माविले व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र नगर शिक्षा शाखा प्रमुखको समिति बनाई परीक्षा सञ्चालन गरेको छ । ऐनमा सोही नगर तथा गाउँपालिकामा विद्यालय निरीक्षक भएको खण्डमा निरीक्षकको उपस्थितिमा परीक्षा गर्ने र यदि विद्यालय निरीक्षक नभएको खण्डमा शिक्षा विकास तथा समन्वय इकाईले तोकेको अधिकृतलाई पठाउनुपर्ने व्यवस्था छ ।

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख नारायण पौडेलले जुन स्थानीय तहमा विद्यालय निरीक्षक छैन, त्यहाँको स्थानीय तहले विद्यालय निरीक्षक पठाइदिनु भनेर जानकारी दिएपछि आफूहरुले पठाउने गरेको बताए । तर पञ्चपुरी उक्त विद्यालयको परीक्षाका लागि कुनै जानकारी नआएको बताए ।

‘प्रश्नपत्र एउटै हुनु र नीतिविपरित शिक्षकको परीक्षा लिनु गलत नियत हो । एउटै प्रश्नपत्र हिंजो पनि थिएन आजपनि हुन्न ।’ पौडेलले भने,’ ‘विवाद भएको ठाउँमा नियुक्ति दिएपछि त्यो नीतिभन्दा माथि उठेर गरेको काम हो ।’

नियुक्ति समर्थन फाइल जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा नआएका कारण आफुहरुले एक्सन लिन नसक्ने बताए । विद्यालयको प्रश्नपत्र एउटै र विद्यालय निरीक्षक नभएको अवस्थामा लिइएको परीक्षा अमान्य हुने बताए ।