जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न भारतमा रहेका नेपालीलाई १० दिनभित्र कर्णालीमा फर्कन निर्देशन दिएपछि भारतबाट नेपाल आउने नेपालीहरुको भिड दिनप्रतिदिन बढ्दो छ ।
कर्णाली प्रदेश सरकारको यस्तो निर्णय सुनेपछि दैलेखको दुल्लु नगरपालिका–१ का गणेश बहादुर थापा भारतको मुम्बईमा गएको २ महिना मात्र भएको थियो । सरकारको घर फर्किने निर्देशनपछि उनी घरफर्कने मेलोमेसो गर्न थाले । थापा हाटेलमा ‘कुक’ को काम गर्थे । गएको २ महिनामा नै उनले घर फर्कने भाडा पनि कमाउन सकेका थिएनन् । साथीहरुसँग सापटी मागेर नेपाल फर्किएका थापा तीन दिनपछि सोमवार वीरेन्द्रनगरमा भेटिए । ‘गएको २ महिना भएको थियो, अलिअलि कमाएको पैसा जाँदा लिएको भाडा तिर्न र आफुलाई उपचारमैं ठिक्क भयो,’ थापाले भने, ‘काम गरिरहेका थियौं एक्कासी यताबाट फर्किने आदेश आएपनि ऋण खोजेरै भएपनि आयौं तर बाटोमा धेरै दुःख पाइयो ।’
उनी जस्तै चौकुने–१ लगामका किस्मत विक पनि भारतबाट सिधै घरपुगेका छन् । रोजगारीका लागि भारतसँगको खुला सिमानाका कारण पनि सीमानाकाबाट नेपाल आउने कामदारहरुको संख्या बढ्दो छ । गणेश र किस्मत जस्ता कैयौं नेपाली नागरिकहरु क्वारेन्टाइन् नबसेर सिधै गाउँ गएका छन् ।
कोरोना भाइरसको सम्भावित खतरालाई रोक्नका लागि कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खुलामञ्चमा निर्माण गरिएका चार सय क्वारेन्टाइन भने खाली अवस्थामा रहेका छन् ।
प्रदेश सरकारले भारत तथा अन्य देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय राम्रो भएको तर भारतमा रहेका नागरिकलाई कर्णालीमा बोलाउनु नै ठुलो समस्या भएको तरुणदल सुर्खेतका अध्यक्ष हरी विष्टले बताए । ‘सरकारले नै त्यस्तो भनेपछि भारतबाट आएका सबै नागरिक रात दिन गरेर भएपनि घर पुगिसकेका छन्,’ उनले भने ‘उनीहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने कुरा थाहा छैन र उनीहरुलाई क्वारेन्टाइनमा बसाउन त्यो खालको व्यवस्थापन पनि छैन ।’
सरकारले गरेको गलत निर्णयका कारण यस्तो समस्या आएको बताउँदै उनले बरु सुरक्षित तरिकाले भारतमै बस्न सुझाव दिएको भए यस्तो नहुने औंल्याए । अध्यक्ष विष्टका अनुसार सिमा नाका र अन्य ठाउँमा कडाई नहुँदा भारतबाट आएका नागरिकहरू क्वारेन्टाइनमा नबसेर सिधै घर पुगेका छन् ।
कोरोनाको जोखिमबाट बच्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रवार कोरोना भाइरस रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले विभन्न निर्णय गरेको थियो ।
दैनिकरुपमा आएका नागरिकलाई ज्वरो नापेर त्यस्ता संकास्पद मानिसहरुलाई आवश्यक सरसल्लाह दिइ पठाउने गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । उनले ज्वरो आएका मानिसको चेकजाँच गरि अस्पताल जान सुझाव दिने रपछि के भयो भनेर फोनमा समेत बुझ्ने गरेको बताए । खण्डमा हामीले उहाँलाई अस्पताल जान भनिसकेका छौं ।’ हरेक नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले बताए ।
चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले सिमानाकाबाट आएका व्यक्तिहरुलाई हेल्थ डेक्समा ज्वरो नाप्ने र पछि पनि उनीहरुलाई निगरानी गरि त्यस्तो केहि भए तुरुन्त प्रदेश अस्पतालमा पठाउने तयारी समेत गरिएकोे बताए । चौकुनेका चार वटा स्थानमा हेल्थ डेस्क राखी प्रचारप्रसार गरि सचेतना फैलाएको बताए । सरकारकी प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा स्वेदश फर्किरहेका नागरिकहरु संघीय सरकारले चैत १० गते बिहान १० बजेदेखि लागू हुने गरी सीमानाका बन्द गर्ने निर्णय भएपछि अरु नागपरक नआएपछि अन्य छुटपुट गाउँघरमा शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिने बताइन् ।