शुक्रबार, फागुन ११, २०८०

कोरोना भाइरस र शक्ति रुपान्तरण

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १८, २०७६

गोरख शाही
पुजीवादलाई घुडा टेकाउने समाजवाद ।

आधुनिक विश्व कोरोना अर्थात कोडिभ १९ भाइरसले आक्रान्त छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले सबैभन्दा ठूलो संकट युरोप र अमेरिकामा ल्याएको छ । विश्वका शक्तिशाली देश पनि यो भाइरसको महामारीमा लपेटिएका छन । कोरोनाले गर्दा विश्वकै अर्थतन्त्र ठप्प छ । चारैतिर सन्नाटा छाएको छ । कतै आफू पनि मरिने हो की, भन्ने चिन्ताले मानव जाती घरभित्रै बसेर आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ ।

कोरोना संक्रमणले विश्वव्यापी महामारी ल्याइरहेका बेला विश्वका अधिकांश मानिस सरकार बलियो हुनुपर्ने, सरकारले नै सबै कुराको नियन्त्रण गर्नुपर्ने, सरकारले बजारमाथि हस्तक्षेप गर्नुपर्ने लगायतका अपेक्षा राखेर बसेका छन । अर्थशास्त्री एडम स्मिथका हिमायतीहरु यस घडिमा निजी क्षेत्र निकम्मा, स्वार्थी, एकांकी, कालाबजारी, गैरजिम्मेवार र चरम नाफामुखी मात्रै भएको निष्कर्षमा पुगेका छन । निजी क्षेत्रको असली नियत संकटको यस घडीमा छताछुल्ल पनि भएको छ ।

विश्वको पुजीवादी सत्ता र शक्ति बेला बेला फैलिने यस्ता महामारिभित्र नाफा खोजिरहेको हुन्छ । किनकी पुजीवादको अन्तर्य भनेको नै नाफा हो । आफूलाई दुई चार दिनको लोभी चर्चा बाहेक सामाजिक उत्तरदायित्वसँग पुजीवादको खास ठूलो साइनो हुदैन ।

एड्म स्मिथको व्यक्तिगत स्वार्थमुखी सिद्धान्तलाई पुजीवादले केही हदसम्म समाजसंग जोड्ने कोसिस गर्न खोजेपनि खुल्ला अर्थतन्त्रका नाममा त्यो नाफाखोर चरित्र नै हो । जुन दोस्रो विश्वयुद्धपछि महाशक्तिका रुपमा उदाएको अमेरिकाले पनि यही रणनीति अपनाएको देखिन्छ ।

अमेरिकी अर्थशास्त्री मर्शलले ‘बेर्टन वुड सिस्टम’मार्फत नवउदारवादको नीति अगाडी सारे । यो पद्धतिअनुसार राज्यले राजनीति मात्रै गर्ने र सम्पूर्ण आर्थिक गतिविधी गैरसरकारी संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था, बहुराष्ट्रिय कम्पनीहरुको जिम्मामा लगाउने भन्ने नै हो ।

यसरी एनजिओरआइएनजिओ र बहुराष्ट्रिय कम्पनीमार्फत विश्वको प्राकृतिक स्रोत र साधनमाथि कब्जा जमाउने अमेरिकाको ‘कुत्सित’ नीति रहेको छ । कोरोना भाइरसको चपेटामा छटपटाइरहेका बेला पुजीवाद शक्ति नाफाको व्यापारमा अदृश्य रुपमा व्याप्त छ ।

सम्पूर्ण मानव समुदाय नै कोरोना संकटको दल दलमा फसेका बेलामा विश्व अर्थतन्त्रमा आफूलाई जननी ठान्ने एनजिओ, आइएनजिओ, बहुराष्ट्रिय कम्पनी र निजी क्षेत्र चाँही कुन दुलोमा पसेका छन ।

वर्तमान समयमा उनीहरु सबै काम सरकारले गर्नुप¥यो भन्छन । अनि सरकारको सशक्तिकरण र हस्तक्षेपको निरन्तर आलोचना गर्छन । अहिले उनीहरु सहयोगी बनेर समुदायसम्म पुग्न सकेका छैनन् ।

बरु कालाबजारी गरेर समुदायलाई लुटिरहेका छन । अनि सरकारलाइ किनारामा बसेर कटाक्ष गरिरहेका छ्न । यसप्रकारका गतिविधिले पुजीवाद संकट र महामारीको घडिमा समुदायको कुनै काम नआउने आकलन गर्न सकिन्छ । सरकारप्रतिको यो विश्वास, अपेच्छा, चासो र भूमिकाले गर्दा विश्व जनमानसमा अर्थतन्त्रको अर्को कुनै विकल्प त छैन भन्ने अनुमान लगाउन सकिन्छ ।

नेपालको सन्दर्भमा खुला बजार नीति भित्र्याउने नव उदारवादलाई रातो कार्पेट ओछ्याउने नेपाली कांग्रेसका प्रखर युवा नेता गगन थापाले निजी अस्पतालहरुको नियत र व्यवहारबाट दिक्क हुँदै तत्काल राज्यले निजी मेडिकल कलेज र अस्पताल राष्ट्रियकरण गर्नुपर्छ भनेर संसदमा गरेको भाषणले पनि हामी अर्थतन्त्रको नया विकल्पमा बहस गर्दै छौं भन्ने कुराको पुष्टि गर्छ ।

समाजको अर्थ–राजनीति मात्रात्मक हुँदै गुणात्मक परिवर्तनको दिशामा अगाडि बढेजस्तो अनुभूति हुदै गएको छ । समाजका अन्तरवस्तुहरु रुपान्तरणका लागि तम्तयार भएको भान हुन थालेको छ ।

‘शक्ति न कहिल्यै सिर्जना हुन्छ न त बिनाश नै । बरु यो त एकबाट अर्को रुपमा रुपान्तरण भइरहन्छ अथवा गर्न सकिन्छ ।’ यो सिद्धान्त शक्ति रुपान्तरणको वैज्ञानिक विधिमा आधारित छ । यसै तरिकाले समाजिक, आर्थिक र राजनीतिक शक्ति पनि भौतिक विज्ञानको शक्ति रुपान्तरणको सिद्धान्तसंग मेल खान्छ ।

हिजो कुनैबेला विश्व शक्ति बेलायतसँग थियो । ‘मेरो साम्राज्यमा सुर्य कहिल्यै अस्ताउदैन’ भनेर बेलायतीहरु घमण्ड गर्थे । तर सन् १९४५ को दोस्रो विश्वयुद्धपछि त्यो शक्ति अमेरिकाले लियो । आधुनिक विश्वको महाशक्ति भनिने अमेरिका पनि अहिले लड्खडाउन थालेको छ ।

यसरी हेर्दा अमेरिकी नवउदारवादमा आधारित पुजीवाद समाजवादमा रुपान्तरण भई एसियातिर सरिरहेको देखिन्छ । जसको वर्तमान नेतृत्व चीनले गरिरहेको छ । कोरोना भाइरसविरुद्धको यो विश्वव्यापी लडाईमा चीनले आफूलाई सफल रुपमा उभ्याएर युरोप र अमेरिकालाई जसरी हायलकायल पारेको छ । यसले पक्कै पनि शक्ति रुपान्तरणको ‘ठूलो खेल परिवर्तन’ नहोला भनेर भन्न सकिन्न ।

लेखक शाही नेकपा चौकुने गाउँ कमीटि सदस्य हुन ।