सोमवार, जेष्ठ २८, २०८१

छोरी–बुहारी छात्रवृत्तिका लागि एक सयको माग, सात सय २३ को आवेदन

  
कर्णाली टाइम्स मंगलबार, चैत्र ४, २०७६

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाहरुको पहुच बृद्धि गर्न सञ्चालन गरेको छोरी–बुहारी छात्रवृति कार्यक्रमका लागि सात सय २३ जनाको आवेदन परेको छ । प्रदेश सरकारले गत वर्षबाट सञ्चालनमा ल्याएको यो कार्यक्रमका लागि एक सय जना छोरी–बुहारीका लागि आवेदन खोलिएको थियो ।
सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा विकास निर्देशनालयले प्राविधिक शिक्षा अध्ययनका लागि कर्णालीका १० जिल्लाबाट एक सय जना छोरी–बुहारीबाट आवेदन मागेपनि सात सय २३ जनाको आवेदन परको शिक्षा विकास निर्देशनालय कर्णालीकी निर्देशक दिपा हमालले बताइन् । निर्देशनालयले कर्णाली प्रदेशका प्रत्येक जिल्लाबाट १० जनालाई छनोट गर्ने नीति अनुसार माघ १९ देखि फागुन २४ गते सम्म आवेदन खोलेको थियो ।
निर्देशनालयले ६ वटा विधामा छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो । छोरी बुहारी छात्रवृत्ति, प्राविधिक उच्च शिक्षा छात्रबृत्ति, उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा सहिद भएका सन्ततिका लागि छात्रवृत्तिका कार्यक्रमहरु ल्याएका छन् ।
छोरी–बुहारी छात्रवृत्तिका लागि तीन वर्षे डिप्लो तह वा प्रमाण पत्र तह व्यवसायिक तथा सरकराी विद्यालयबाट माध्यामिक शिक्षा उत्तिण गरेकाले आवेदन दिएका थिए ।
प्राविधिक शिक्षामा महिलाको पहुँच बढाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रमले सहयोग पुग्ने निर्देशक दिपा हमालले बताइन् ।
‘छात्रवृत्तिका लागि परेका कुल आवेदनहरुबाट एक सय जना छोरी–बुहारीलाई छनोट गर्नेर्छौं,’ निर्देशक हमालले भनिन्, ‘ चैतको २० गते सम्म सबै छनोट प्रक्रिया सकिन्छ ।’
निर्देशक हमालका अनुसार सुर्खेतबाट एक सय ३२ जना, दैलेखबाट एक सय दुई, जाजरकोटबाट ५८, रुकुमपश्चिमबाट ३६, सल्यानबाट ७७, जुम्लाबाट एक सय ४५, हुम्लाबाट ६४, कालिकोटबाट ४६, मुगुबाट १६ र डोल्पाबाट ५१ जना गरि सात सय २३ जनाको आवेदन परेको हो । शिक्षा विकास निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी आवेदन जुम्लाबाट परेका छन् भने सबैभन्दा कम आवेदन हुम्लाबाट परेका छन् । छात्रवृत्तिको विधा अनुसार (२४ हजार देखि एक लाख सम्म) फरक–फरक रकम छनोट भएका उम्मेदवारले पाउने निर्देशनालयले जनाएको छ ।