आइतवार, जेष्ठ ६, २०८१

सुकुम्बासी मजदुर भन्छन् ‘रोग भन्दा भोकको चिन्ता छ’!

  
कर्णाली टाइम्स बुधबार, चैत्र १९, २०७६
वीरेन्द्रनगर ७ की सुकुम्बासी मजदुर लालमती ज्ञवाली ।

जगतदल जनाला विक

सुर्खेत । सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरेपछि सुर्खेतका सुकुम्बासी बस्तीका मजदुहरुको अवस्था दयनिय बनेको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलामा दैनिक ज्यालादारी गरेर छाक टार्ने सुकुमबासी मजदुरलाई यो माहामारीले भन्दा भोकमारीले मर्ने चिन्ता छ ।
‘गिट्टी कुटरे त साँझ बिहानको गुजरा गरेका थियौं लकडाउनका कारण कामकाज पनि पाइएको छैन भोकै बस्नु परेको छ,’ वीरेन्द्रनगर–७ की सकुमबासी मजदुर तिपुरी सञ्ज्यालले भनिन्,’ प्रहरी आएर बाहिर नसिस्कनु रोग लाग्छ भनेर भन्छन् तर हामी रोगले भन्दा भोकले मर्ने डर छ ।’

‘आज चैते दशैं काम गरेको पनि पैसा नपाएपछि केटाकेटीलाई माछा मासु समेत खुवाउन सकिएन अरुका घरमा मासु पकाएको देखेर रोइकराइ गर्न थाले,’ अर्की स्थानीय खगीसरा शाही रुँदै भनिन्, मिठो मसिनो त के आज के खाने भन्ने समेत चिन्ता लागेको छ ।’
‘काम गरेर सात जनाको जहानलाई साँझ बिहान चुलो बलेकै थियो तर यो लकडाउनका कारण दैनिक जीवन धान्न समस्या भएको छ,’ भक्त बहादुर शाहीले भने, पहिला काम गरेको पैसा समेत पाइएको छैन ।’

दिनभर काम गरेर साँझपख खानाको जाहो गर्ने वीरेन्द्रनगरका सुकुमबासी मजदुरहरुको भान्सामा खाद्यन्नका सामान सकिएका छन् । नुन पानी उमालेर खानुको विकल्प नभएको उनीहरुको गुनासो छ ।

विपन्नलाई राहत दिन तथ्याङ्क संकलन
सुर्खेतका स्थानीय सरकारले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने र विपन्न परिवारको तथ्याङ्क संकलन गर्न थालेका छन् ।
स्थानीय सरकारले उनीहरुको तथ्याङ्क संकलन गरेर खाद्यन्न उपलब्ध गराउने बताएका छन् । अबको एक, दुइ दिनमा सबै परिवारको तथ्याङ्क संकलन गरेर खाद्यन्न वितरण गरिने जनाइएको छ ।
लकडाउनको समय लम्बिएपछि अहिले दैनिक मजदुरी गरेर खाने परिवारलाई राहत स्वरुप दैनिक उपभोग्य वस्तु प्रदान गर्ने तयारी स्थानीय सरकारले गरे पनि तत्कालका लागि भने उनीहरु समस्यामा परेका छन् ।

बाढी पीडितका लागि सहयोग जुट्दै
लकडाउनका कारण खाद्य संकट भोगिरहेका सुर्खेतका एक हजार ४५ जना बाढी पीडितहरुका लागि सहयोग संकलन सुरु भएको छ । २०७१ सालको बाढीले घरबारविहिन भएका उनीहरु विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका छन् । उनीहरुको तथ्याङ्क संकलन गरिसकेपछि विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगमा राहत वितरण गरिने अभियान्ताहरुले बताएका छन् ।