जगतदल जनाला विक
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना राहत कोष स्थापना गरेको छ । कोरोनाबाट बच्न र बचाउन अपनाइने उपाय र कोरोनाकै कारण समस्यामा परेकाहरुलाई राहत दिने र भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुलाई कोरोनासम्बन्धी सचेतना फैलाउनका लागि स्वयंसेवक खटाएको छ ।
गाउँपालिकामा बाहिरबाट आएका नागरिकलाई सुरक्षित बस्न सिकाउने, कोरोना संक्रमणबाट बच्न जानकारी दिने र उनीहरुलाई क्वारेन्टाइनमा बस्न लगाउने उद्देश्यले गाउँपालिकाले दशवटै वडामा दश जना स्वयंसेवक खटाएको हो ।
देश विदेशमा रहेका तर यस्तो विपदमा चौकुनेका बासिन्दालाई सहयोग गर्न चाहेका मनकारीहरुलाई राहत कोषमा पैसा जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ । यसका लागि लक्ष्मी बैंकमा रहेको चौकुने गाउँपालिकाको खाता नं. ०९६११०००१७७ मा राहत रकम जम्मा गर्न सकिने पनि गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आइतबार स्थानीय लालमणि धमालाले आइतबार मात्रै कोषमा १० हजार ५ सय ५५ रुपैयाँ कोषमा जम्मा गरेका छन । एलजी निर्माण सेवा चौकुने ७ का सञ्चालक धमालाले गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई राहत कोषका लागि चेक हस्तान्तर गरेका हुन् ।
गाउँपालिकामा बाहिरबाट आएका तीन सय २१ जनाको तथ्याङ्क संकलन गरिएको छ र गरीब परिवारहरुको पनि तथ्याङ्क संकलन गरिँदैछ ।
भारत र अन्य देशबाट आएका नागरिकहरुलाई गाउँपालिकामा क्वारेन्टाइन स्थापना गरिएको छ ।
गाउँपालिकाले जीवनज्योति माविको भवनमा ६० जनालाई अट्ने क्वारेन्टाइन बनाएको छ । अहिले चार जना क्वारेन्टाइनमा बसेका छन् । यस्तै गाउँपालिकाले दश वटै वडामा रहेका नाकाबाट आवतजावतमा रोक लगाएको छ ।