शनिबार, भदौ २९, २०८१

कर्णालीका ३ जिल्ला ‘एलोजोन’ र ७ जिल्ला ‘ग्रीनजोन’ मा

बाँके, बर्दिया भएर कर्णाली प्रवेश गर्न र सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा जान पूर्णतः रोक लगाइने संभावना

  
कर्णाली टाइम्स सोमवार, बैशाख २२, २०७७

सुर्खेत । कर्णालीमा हालसम्म कोरोनाको संक्रमण नदेखिए पनि यहाँका ३ जिल्ला ‘एलोजोन’ (आंशिक जोखिमयुक्त क्षेत्र ) मा रहेका छन् । बाँकी ७ जिल्ला भने ‘ग्रीनजोन’ (न्यून जोखिमयुक्त क्षेत्र) मा राखिएको छ ।

राष्ट्रिय दैनिक कान्तिपुरले सोमबार प्रकाशित गरेको समाचारअनुसार सुरक्षा निकायले देशभरको जोखिमको अवस्था विश्लेषण तथा आँकलन गरी कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा रणनीतिक रायसुझाव प्रतिवेदन पेश गरेका छन् ।

कान्तिपुरकाे समाचार पढ्न यसमा क्लिक गर्नुहाेस्

https://ekantipur.com/news/2020/05/04/158855710735339142.html )

उक्त प्रतिवेदनमा कर्णालीका सुर्खेत, सल्यान र रुकुम पश्चिम एलोजोनमा रहेका उल्लेख छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख र जाजरकोट भने ग्रीनजोनमा रहेका छन् । प्रतिवेदन अनुसार ७७ मध्ये कर्णालीका ७ सहित २० जिल्लामात्र ग्रीनजोनमा रहेका छन् । एलोजोनमा रहेका २८ जिल्लामध्ये ३ जिल्ला कर्णालीका छन् । २९ जिल्ला भने ‘रेडजोन’ (उक्त जोखिमयुक्त क्षेत्र) मा रहेका छन् ।

प्रतिवेदनमा जोखिमको अवस्था हेरेर लकडाउन लम्ब्याउने वा कुन मोडालिटीमा लैजाने भन्नेबारे छलफल भइरहेको छ । प्रतिवेदनमा रेडजोनमा रहेका जिल्ला भित्रमा मुख्य संक्रमित स्थानलाई हटस्पट तोकेर पूर्णलकडाउन पालना गर्ने र त्यस्ता हटस्पट क्षेत्रलाई सिलबन्दी गर्नुपर्ने उल्लेख छ । एलोजोजनमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने, तर रेडजोन क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निशेध गर्नुपर्ने सुझाव दिइएको छ । ग्रीनजोन क्षेत्रमा भने लकडाउन खुकुलो पार्ने र सामाजिक दुरी कायम हुने गरी गतिविधि जारी राख्ने तर एलोजोन र रेडजोन क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निशेध गर्नुपर्ने सुझाव दिइएको छ ।

सुरक्षा निकायको यो प्रतिवेदनबारे छलफल भइरहेकोबारे समाचारमा उल्लेख छ । यदि प्रतिवेदनको सुझावलाई सरकारले ग्रहण गरेमा बाँके, बर्दियाबाट रत्न राजमार्ग हुँदै सुर्खेत प्रवेश गर्न रोकिनेछ । उद्धारका नाममा सुर्खेतबाट समेत कर्णालीका अन्य जिल्लामा जानबाट पूर्णतया रोक लगाइने छ ।