बिहीबार, बैशाख २०, २०८१

सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता नभएपछि कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

  
कर्णाली टाइम्स शुक्रबार, असार ५, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभा अधिवेशन अवरुद्ध भएको छ । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता नभएपछि प्रदेशसभाको बैठक अवरुद्ध पारेको हो ।

नेपाली कांग्रेसले संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रण सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्ताव छलफललाई प्रदेशसभामा नदिएपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै शुक्रबार प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको अस्वीकृत गरेको थियो । कर्णाली प्रदेशसभामा सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता नभएपछि संसद अवरुद्ध भएको कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘प्रदेशसभामा हामीले १७ बुँदे सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका थियौँ’ उनले भने, ‘यो सार्वजनिक महत्त्वको प्रस्ताव अस्वीकृत भएका कारणले संसद चल्न सक्दैन ।’

सभामुख राजबहादुर शाहीले प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल ल्याउन नचाहेको नभएर केही बुँदा पुनर्लेखनको आवश्यकता रहेको संसदलाई जानकारी गराएका थिए ।

तर, प्रतिपक्षी दलका संसदीय दलका नेता शाहीले यसभन्दा अघि पनि सबैखाले फजुल खर्च र प्रदेशसभाका पदाधिकारी तथा सदस्यले लिँदै आएको सवारी सुविधा फिर्ता गर्नेसम्बन्धी संसद सचिवालयमा दर्ता गरेको संकल्प प्रस्ताव अस्वीकृत गरेको र अहिले पनि सार्वजनिक महत्त्व प्रस्ताव अस्वीकृत भएका कारणले संसद चल्न नदिने सभामुखलाई जानकारी गराएका थिए ।

कर्णाली प्रदेशसभाको बैठक भोलि (शनिबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसले जेठ २९ गते संसदमा छलफलका लागि उक्त प्रस्ताव दर्ता गरेको थियो ।