सुर्खेत । लकडाउनकाे अवधिमा पनि कर्णाली प्रदेशमा आत्महत्या भयावह बन्दै गएकाे छ । सरकारले कोरोनाको कारण चैत ११ गतेदेखि देशभर लकडाउन घाेषणा गरेपछि त्यसयता कर्णालीमा ९१ जनाले आत्महत्या गरेका प्रहरीले जनाएकाे छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतका ३८ जना, दैलेखका १५ जना, रुकुमका १० जना, सल्यानका २४ जना, जुम्लाका ३ जना र डोल्पाका २ जनाले आत्महत्या गरेका छन् । लकडाउनकै बीचमा पनि क्वारेन्टाइनबाट फर्किएकाले आत्महत्या गरेका छन् । कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले तर जाजरकोट, कालिकोट हुम्ला र मुगुमा भने आत्महत्याका घटना छैनन् । मानसिकरुपमा चिन्ता, गरिबी, अशिक्षा, घरेलुहिंसा, दीर्घरोग लाग्नु, पारिवारिक झगडा, काममा सफलता नपाउनु जस्ता कारणले आत्महत्याका घटना हुने गरेका उनको भनाइ छ ।
२०७६ साउन १ गते देखि चैत १० गतेसम्म कर्णालीका ८ जिल्लाका १ सय ५९ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयले साउनदेखि राखेको तथ्याङ्कमा सुर्खेतका ७८ जना, दैलेखका १९ जना, जाजरकोट र जुम्लाका ६–६ जना, रुकुमपश्चिमका ११ जना, सल्यानका ३३ जना, हुम्लाका २ जना र कालिकोटका ४ जनाले आत्महत्या गरेका छन् । यो तथ्याङ्क हेर्दा सबैभन्दा बढी सुर्खेतमा आत्महत्याका घटना हुने गरेका छन् । चैत १० गतेसम्म डोल्पा र मुगुमा आत्महत्या गर्ने मानिसको संख्या शून्य छ ।
अधिवक्ता दुर्गाप्रसाद सापकोटा अशिक्षा, डिप्रेसन र गरीबी आत्महत्याको मुख्य कारण भएको बताउँछन् । ‘डिप्रेसन नै आत्महत्या हो, कोही गरीबीका कारण, कोही मानसिक तनावका कारण तथा कोही चेतनाको अभावका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको देखिन्छ,’ उनले भने, ‘सबैभन्दा पहिले मानिस सचेत प्राणी आफैं मर्नु हुँदैन भन्नेबारे सचेत हुनुपर्छ ।’