सुर्खेत । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुरोध गरेको छ ।
प्रशासनले सुर्खेत स्थित व्यापारी, उद्योगी र आम नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले शुक्रबारदेखि लागु हुने गरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पसल खोल्न निर्देशन गरेको छ ।
फलफुल, तरकारी, दुध, ग्याँस, औषधी पसल जस्ता अत्यावश्यक सेवा बाहेकका पसलहरु शनिवार बन्द गनुपर्ने र लकडाउन खुकुलो भएपछि व्यापारिक क्षेत्रमा भीडभाड धेरै बढेकोले प्रशासनले होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसलहरु (होमप्याक बाहेक), सैलुन तथा ब्युटी पार्लर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
‘कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट गरेका निर्णयहरु कार्यान्वयन गर्न नीजि क्षेत्रसँग पनि समन्वय भएको छ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘परिस्थिती अनुसार यी निर्णयहरुलाई थप कडाई गरिनेछ ।’
यस्तै लकडाउनको समयमा कालो बजारी रोक्नका लागि सबै पसलमा मुल्यसूची टाँस्नु गर्नुपर्ने, सवारी साधन सञ्चालनको सम्बन्धमा जोर विजोर प्रर्णाली लागु गरी तीन पाङग्रे सवारी साधन पूर्ण रुपमा बन्द गरिएको छ ।
कर्णाली टाइम्स
शुक्रबार, असार १९, २०७७