सोमवार, जेष्ठ १४, २०८१

कर्णालीमा कोरोना संक्रमितको संख्या घट्दै, ३ दिनमा २ जना संक्रमित थपिए

  
जगतदल जनाला विक आइतवार, साउन १८, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

पछिल्लो तीन दिन यताको तथ्याङ्कलाई हेर्दा कर्णालीमा कोरोना संक्रमितको संख्या न्यून रहेको छ । शुक्रबार र शनिबार एक÷एक जना, आइतबार थप कसैलाई पनि संक्रमण पुष्टि भएको छैन । कर्णाली प्रदेशका विभिन्न ठाउँमा रहेका प्रयोगशालामा परीक्षण गरेका सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्तगरतको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए ।
उनले भने ‘आइतबार एकजना पनि कोरोना संक्रमणका बिरामी फेला परेनन् । शनिबार सल्यानमा एकजनामा कोरोना संक्रमण देखिएको थियो ।’

सुरुवाती चरणमा एकैदिन एक सय २० जनासम्म संक्रमित थपिएको कर्णालीमा दिनप्रतिदिन संक्रमितको संख्या घट्दै गएको डाक्टर तिवारीको भनाई छ ।
कर्णालीमा कुल एक हजार ९ सय ३९ जना मध्ये हाल सक्रिय संक्रमित बिरामी २ सय ११ जना र ६ जनाको मृत्यु भइसकेको छ । आइतबारसम्म एक हजार ७ सय २२ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । कर्णालीमा हालसम्म ४१ हजार २ सय ७९ जनाको हालसम्म पीसीआर परीक्षण गरिएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

कर्णालीका मात्र हालसम्मको जम्मा एक हजार ९ सय ३९ जना मध्ये जिल्लागत संख्या दैलेखमा ९ सय ३८ जना, सुर्खेतमा ५ सय ३१ जना, सल्यानमा २ सय ३२ जना, कालिकोटमा ६९ जना, जुम्लामा ४० जना, जाजरकोटमा ३१ जना, मुगुमा ९ जना, हुम्लामा ५ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ५६ जना कोरोना संक्रमित रहेको तथ्याङ्क छ । यो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या दैलेखमा र सबैभन्दा कम डोल्पामा रहेको छ ।

आइतबार सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।