बुधबार, फागुन ९, २०८०

पञ्चसिंह रोकाया : अकालमै झरेकाे सुर्खेती आकाशको चम्किलाे तारा

  
जगतदल जनाला विक शनिबार, साउन ३१, २०७७

 

सुर्खेत । पञ्चसिंह रोकाया छोटो आयू बाँचे, तर उनले धेरै लामो परिचय छोडेर गए । उनले राजनीतिक, सामाजिक, आर्थिक, व्यावसायिक, सांस्कृतिक रुपमा आफ्नो चम्किलो पहिचान बनाएका छन् ।

२०२७ साल जेठ २ गते जन्मिएका रोकायको साउन २६ गते निधन भयो । धार्मिक संस्कारअनुसार शनिबार उनको पुण्य तिथिको कार्यक्रम रहेको छ । ५ वर्षअघि कलेजो ट्रान्सप्लान्ट गरी निको भएका रोकायालाई मुखको क्यान्सर भयो । अन्ततः उनको क्यान्सरकै कारण मृत्यु हुनुपग्यो ।

बाल्यकालदेखि राजनीतिमा रुची राख्ने रोकाया बहुदल आएदेखि कांग्रेससँग आवद्ध थिए । पहिचानको मुद्दा जोडतोडको साथ उठ्न थालेपछि भने उनी जनअधिकार फोरममा प्रवेश गरे । फोरमको जिल्ला सदस्य भएर संविधानसभा निर्वाचन र प्रतिनिधिसभा सदस्यमा समेत सांसद पदका उम्मेद्वार बने । पछिल्लो समय उनी फोरमसमेत मिलेर बनेको समाजवादी जनता पार्टीको कर्णालीे प्रदेशका महासचिव थिए ।
रोकाया नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष, बौद्ध ग्रामीण वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा एक सफल व्यवसायी समेत थिए । उनले आफ्नो जीवनकालमा विभिन्न सामाजिक संघसंस्थामा रहेर सक्रियतापूर्वक काम पनि गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

रोकाया सामाजिक मेलमिलापकर्ताको रुपमा समेत परिचित थिए । समाजमा भएका सानातिना विवादहरु संवादका माध्यमबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्ने रोकायाले संवाद समूहबाट पनि विभिन्न विवादका विषयमा जिम्मेवारी लिई समाधान गरेका थिए । कसैले अन्याय गरेको सहन नसक्ने उनी एक कुशल सामाजिक मेलमिलापकर्ता रहेका उनका सहकर्मी अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् ।

पछिल्लो समय उनी मिडिया उद्यममा समेत जोडिएका थिए । मिडियाका माध्यमबाट सिमान्तकृत नागरिकका आवाजलाई बाहिर ल्याउनुपर्छ भन्ने सिद्धान्त राख्ने रोकाया सुर्खेत पहिचान दैनिकका प्रकाशकको जिम्मेवारीमा थिए । २०६८ बाट सुरु भएको उक्त पत्रिकामा उनी २०७६ फागुनदेखि प्रकाशक रहेका थिए ।

सहकारी अभियान्ता
समुदायलाई सहकारीका माध्यमबाट आर्थिक तथा कृर्षिमा निर्भर गर्न सकिन्छ भन्ने उद्देश्य राखेर निरन्तर सहकारी अभियानमा लागेका रोकाया २०५२ सालदेखि सुर्खेत बहुउद्देश्यीय सहकारीको संस्थापक सदस्य हुँदै बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारीको स्थापना कालदेखि हालसम्म अध्यक्ष थिए । सहकारीमा कार्यरत कर्मचारी र शेयर सदस्यहरु रोकायाको नेतृत्व गर्ने क्षमताप्रति निकै हर्षित थिए ।

दैलेख, कालीकोट, जुम्ला र जाजकोटमा शाखा भएको बौद्ध सहकारीबाट १ सय ६५ जनाले रोजगारी पाएका छन् । सहकारीलगायत अन्य विभिन्न क्षेत्रमा गरेका उल्लेख्य कामबाट नयाँ पिंढीले सिक्नुपर्ने जनजाती महासंघ कर्णाली प्रदेशका अध्यक्ष बीबहादुर रावत (भोटे) ले बताए । उनी सुर्खेत होराइजन एकेडेमीका संस्थापक सदस्य पनि हुन् ।

यसका साथै रोकाया सुर्खेतका एक सफल व्यवसायीसमेत हुन् । उनले बुद्ध सप्लायर्समार्फत कर्णालीका हरेक बस्तीमा सामग्रीहरुमा सरिया, सिमेन्ट ग्रील निर्माण सामग्री पु¥याउँथे । भद्र र सालिन व्यक्तित्व रोकायाले व्यवसायमा पनि राम्रै सफलता पाएका थिए ।

धार्मीक सहिष्णुता
२०६९ को बुद्ध जयन्तीको अवसरमा काँक्रेबिहारमा बुद्धको मूर्ति राख्नुपर्छ भनेर रोकायाकै अध्यक्षतामा काँक्रेबिहार बुद्ध मूर्ति स्थापना समिति बन्यो । काँक्रेबिहारमा मूर्ति राख्न भनेर भारतको देहरादुनबाट करिब ७ लाखको लागतमा ल्याएका थिए । विभिन्न विवादका कारण रोकायाले काँक्रेबिहारमा त्यो बुद्धको मूर्ति राख्ने सपना अधुरै रह्यो । मूर्ति राख्ने सम्बन्धमा विवाद भए पनि उनले सुझबुझपूर्ण रुपमा समस्या समाधान गरेका थिए । यसका साथै रोकाया बुद्धपथमा नेपालकै सबैभन्दा अग्लो १ सय ८ फिट अग्लो बुद्ध सरोवर निर्माणका अभियन्तासमेत थिए । दृष्टिबिहीन हेरविचार केन्द्र सुर्खेतको मानार्थ सदस्य रहेर उनले आफ्नो सामाजिक छबिलाई थप स्पष्ट पारेका थिए ।

नागरिक आन्दोलनमा सक्रियता
सुर्खेत साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्र हुँदा क्षेत्रीय सदरमुकाम थियो । वीरेन्द्रनगर सदरमुकाम भए पनि यहाँका अधिकांश सरकारी कार्यालयहरु भने नेपालगन्ज थिए । ती कार्यालयहरु सुर्खेतमा ल्याउनपर्छ भनेर नागरिकस्तरबाट सक्रियरुपमा आन्दोलन गर्ने व्यक्तिमध्ये एक थिए पञ्चसिंह रोकाया । पुनरावेदन अदाल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कर्णाली प्रदेश स्थापना गर्दा गरिएका हरेक आन्दोलनमा उनको सक्रिय सहभागिता रहेको छ ।

राेकायाकाे सम्झनामा आयाेजित कार्यक्रममा सहभागीहरु

अधूरा सपना
आदिवासी जनजाति, पिछडिएका वर्गहरु शासन सत्ताको पहुँच पुग्नुपर्छ भन्ने पञ्चसिंहको मान्यता थियो । उनी यसकै लागि राजनीतिकदेखि सामाजिक अभियानमा सक्रिय थिए । यसकै लागि उनी एकपटक सांसद हुन चाहन्थे । उनको राजनीतिको एक सपना थियो त्यो ।
त्यसैगरी बुद्धपथमा नेपालकै सबैभन्दा अग्लो १ सय ८ फिट अग्लो बुद्ध सरोवर निर्माण गरी वीरेन्द्रनगर सुर्खेतलाई पर्यटकीय क्षत्रको रुपमा विकास गर्ने, वीरेन्द्रनगरमा धार्मिक मेला लगाउने र खाम्पा भाषालाई नेपाली भाषामा रुपान्तरण गरिएको शब्दकोश बनाउने उनका सपना थिए । ती सपनालाई साकार पार्न आफूहरु लागिपर्ने उनका सहकर्मी जनजाती महासंघ सुर्खेतका उपाध्यक्ष जीवन कुमार शाक्यले बताए ।