शुक्रबार, असोज १८, २०८१

प्रोजेक्टको जागिर छोडेर कुखुरा पालनमा जमेका धुर्व (भिडियो कथा)

  
जगतदल जनाला विक बिहीबार, भदौ ४, २०७७
पञ्चपुरी नगरपालिका ८ दुलालथाई स्थित आफ्नै फर्ममा काम गर्दै धुर्व बोगटी ।

सुर्खेत। पञ्चपुरी नगरपालिका–८ दुलालथाईका ३५ वर्षीय धुर्व बोगटी ४ वर्षसम्म कालिकोटमा भिडीसेफ नामक एनजिओमा प्रोग्राम कोर्डिनेटरको भएर काम गरे ।

एनजिओमा काम गर्ने क्रममैं उनले चितवन, बुटवल, पाल्पा लगायतका स्थानमा कषि तथा पशुपालनको अवलोकन गर्ने मौका पाए । ती ठाउँका अवलोकनले उनलाई लोकल कुखुरा पालनको रुचि जाग्यो ।

अवलोकनकै क्रममा सुर्खेतको एउटा लेयर्स कुखुरा फर्ममा जाँदा धुर्वले कखुरा पाल्ने कृषकसँग सोधेका थिए ‘यी कुखुराले अण्डा दिन छोडिसकेपछि के गर्नु हुन्छ’ उत्तरमा कृषकले ‘अण्डादिन छोडेपछि त्यसलाई कालिकोट, जम्ला तिर मासुका लागि पठाउँछौं ’ धुर्वलाई मनमा लाग्यो की सबै सकिएर लास्टमा कुहिएका कुखुरा पनि हामी खाँदा रहेछौं भन्ने मनमनै सोचे । त्यसपछि उनी लोकल कुखुरा पाल्ने पक्का योजना बनाए ।

उनले गाउँ घरकै वातावरणमा हुर्कन सक्ने र सहजै पाउन सकिने बजारमा मुल्य पनि भएकोले यो व्यसायबाट घाटा आउँछ भन्ने त कल्पना पनि गरेनन् ।

प्रोजेक्ट भन्दा यताबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि उनले जागिर छोडेर कुखुरा पालन गरे । कर्णाली एग्रोफर्म मार्फत १२ सय कुखुराबाट व्यवसायलाई सुरुवात गरेका बोगटीले १० लाख लगानी गरे ।

पाँच महिनापछि सबै कुखुरा बिक्री गरी सबै खर्च कटाएर ४० प्रतिशत चार लाख खुद नाफा भएपछि उनले पटक–पटक गरी तीन हजार कुखुरा बिक्री गरे । फेरि १००० कुखुरा बिक्री गर्न तयार बनाएका छन् ।

यसरी होलसेलमा कुखुरा पालन गर्दा एउटा कुखुरामा ५ देखि साढे ५ सयसम्म लगानी लाग्ने गरेको उनको अनुभव छ ।
बजारको कुनै रिसर्च नगरी कुखुरा पालन गरेका उनले १२ कुखुरा सुर्खेतकै बजारमा बिक्री गरे ।

‘एकैपटक धेरै कुखुरा पाल्दा त्यसको लागत कम पर्न जान्छ । एउटा कुखुरा बिक्री गर्दासम्म ५ देखि साढे ५ सयसम्म लागत लाग्ने गर्छ,’ धुर्वले भने, ‘मैले व्यवसाय गर्दा बजारको कुनै अध्यन गरेको थिएन । तर सुर्खेतमै पनि लोक कुखुराको मार्केट धेरै छ ।’

आफुसँगका धेरै साथीहरु सरकारी, एजजिओ तथा विदेशमा गएर महिनामा लाखौं कमाउने गरेपनि आफुलाई कुखुरा पालनमै सन्तोष मिलेको उनी बताउँछन् ।

‘म सँगका साथीहरु कोही स्वदेशमैं जागीर गर्छन् । कोही विदेशमा गएर मासिक एक डेढ लाख कमाउँछन् । तर जे जति भएपनि अरुको काम गर्न र आफ्नो काम गर्न फरक पर्छ,’ उनले भने, ‘ लोकल कुखुरा पाल्न सजिलो र यसको बजार पनि राम्रो भएकोले यसबाट मनले सोचेजति फाइदा हुन्छ ।’

कालिकोट, जुम्ला र सुर्खेतबाट समेत लोकल कुखुराको अर्डर आएपनि उनले व्यवसायलाई विस्तार गर्ने योजना बनाएका छन् ।
३५ लाखको लगानीमा थप २१ रोपनीमा लोकल कुखुरा पालन गर्ने बताए ।

६ महिनामै बजारमा कुखुरा पठाउन सकिने हुँदा कुल लगानीको ४० प्रतिशत भन्दा बढी आम्दानी गर्न सकिने उनी बताउँछन् ।
विश्वभर महामारीकारुपमा फैलिएको कारोना भाइरसका कारण रोजगारीका लागि भारत लगायत अन्य मुलुकबाट फर्कने नागरिकको संख्या पनि त्यतिकै रहेकोले उद्यमीका लागि रोजगार र सीप सिक्ने उत्तम समय रहेको बताए ।

२०७६ सालदेखि आफ्नै लगानीमा व्यवसाय सुरु गरेका बोगटीले ४ जनालाई स्वदेशमै रोजगार दिएका छन् ।
सरकारी अनुदान वास्तविक केही गर्छु भन्ने कृषकको पहुँचमा नपुगेको गुनासो गरे ।
भिडियो