शुक्रबार, असोज २५, २०८१

बेसाहारा बालकले भने ‘मलाई बचाउँनुहोस्’

  
कर्णाली टाइम्स बिहीबार, भदौ ४, २०७७

लक्ष्मी भण्डारी

सुर्खेत । गुर्भाकोट — ६ का ११ वर्षिय विकास वलीको छ वर्षकै कलिलो उमेरमा बुवाआमाको काख खोसियो । पाँच वर्ष अघि बुवाले अर्के श्रीमती लिएर भारत गए । त्यसको केही महिनामै आमाले अर्केसँग विवाह गरेर गइन् । घरतिरको बाजे बज्यैले वास्ता नगरेपछि उनी गुर्भाकोट — ९ मा रहेको मामाघरमा बस्न थाले । उनलाई पालनपोषण र पढाउने काम मामाघरबाटै भयो । उनी अहिले स्थानीय सरकारी विद्यालयमा कक्षा ६ को परिक्षा दिएका छन् ।
विगत तीन महिनादेखि ब्लड क्यान्सरबाट पीडित विकास अस्पतालको ओछ्यानमा छन् । आर्थिक अभावका कारण मामाघरबाट उपचार गर्न नसकेपछि अस्पतालमै छन् । ‘मेरो बाबामम्मीले छोडेर जानुभयो’ अस्पतालको वेडमा विकासले भक्कानिएर भने, ‘मलाई जसरीपनि बचाउँनुहोस् ।’ आफु बाँचेर पढ्ने ठूलो धोको रहेको विकासले सुनाए ।
आर्थिक अभावको कारण उपचारमा कठिनाई भएको विकासको सानिमा (आमाको बहिनी) हस्ता पुनले बताइन् । ‘बाबुलाई बचाउन उसको घाँटीमा अप्रेसन गर्नुपर्ने र १५ लाख रकम लाग्ने डाक्टरले भनेका छन्’ हस्ताले भन्नुभयो, ‘अझै वोनम्यारो नै प्रत्यारोपण गर्नुपर्ने भयो भने २५ लाख लाग्न सक्ने डाक्टरले भनेका छन् ।’
विकासलाई प्रत्येक दिन नयाँ रगत फेर्नुपर्ने भएकोले समस्या भएको उनले बताइन् । ‘प्रत्येक दिन बाबुलाई रगत चाहिन्छ अनि यहाँ कोठा लिएर बस्दा खाँदा धेरै खर्च लाग्ने भयो’ हस्ताले भनिन्, ‘बाबुको उपचारको लागि गाउँबाट लिएको पाँच ऋण पनि सकियो ।’ गाउँबाट लिएको ऋण सकिएपछि हस्ताले सबैसँग सहयोगको लागि हार गुहार गरेको बताइन् ।
‘बाबुको उपचारको लागि सबैसँग हार गुहार गरेतापछि तीन लाख जति रकम सहयोग आयो त्यसले पनि केही राहत भयो’ उनले भनिन्, ‘ बाबुको ज्यान बचाउन सबैसँग सहयोग गर्न आग्रह गरेको छु ।’
बाबुको उपचारको लागि सुर्खेतको प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो । त्यहाँबाट चितवन लैजान भनेपछि भरतपुर अस्पताल लगियो । अहिले काठमाडाँैको नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा राखिएको छ । बैशाखयता विकासलाई उपचारको लागि सिभिल हस्पिटलमा राखिएतापनि आर्थिक अभावले गर्दा उपचार हुन सकेको छैन ।
अहिले विकासलाई अस्पताल नजिकै कोठामा ल्याइएको अर्काे सानिमा अस्मिता पुनले बताइन् । उपचारको लागि पैसा जुटेमा मात्र विकासलाई अस्पताल लगिने अस्मिताले बताइन् । विकासको साथमा मामाघरको बाजे बज्यै तथा सानिमाहरुले पालो गरेर साथमा बसेका छन् । लकडाउनको कारणले काठमाडौं र सुर्खेत जान आउन समस्या भएको अस्मिताले बताइन् ।