आइतवार, बैशाख २३, २०८१

एमयूको रजिष्ट्रारमा ६ जनाको नाम सिफारिस, रानामाथि फेरि अन्याय ?

  
कर्णाली टाइम्स सोमवार, भदौ २२, २०७७

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रारमा ६ जनाको नाम सिफारिस भएको छ । उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले गठन गरेको छनोट समितिले उनीसमक्ष ६ जनाको नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार सिफारिस हुनेमा एमयूका २ जना र बाहिरका ४ जना रहेका छन् । एमयूका डा. नारायण पौडेल र अनन्तराज घिमिरेको नाम सिफारिस भएको स्रोतको भनाइ छ । एमयू बाहिरका डा. बुद्धिप्रसाद सापकोटा, डा. जगत पौडेल, एकराज ओझा र अर्का एकजना रहेका बताइएको छ । सुर्खेत घर भएका सापकोटा त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक हुन् भने पौडेल विश्वविद्यालय अनुदान आयोगमा एउटा विभागका प्रमुख छन् । डोटीका ओझा भने सेवा निवृत्ति प्राध्यापक हुन् ।

एमयूको उपकुलपतिमा सिफारिस भएका प्रा. डा. केशरसिंह रानाको नाम भने सिफारिस भएको छैन । विज्ञान संकायका पूर्वडीन र हाल सेवा आयोगका सदस्यसमेत रहेका रानालाई धेरैले रजिष्ट्रारको रुपमा हेरेका थिए । लामो प्रशासनिक अनुभव र उपकुलपतिमा सिफारिससमेत भएको हुनाले उनी रजिष्ट्रार हुने धेरैको आँकलन थियो ।

उपकुलपति सिंहले सिफारिस भएका नाममध्येबाट एकजनालाई नियुक्तिको लागि कुलपति (प्रधानमन्त्री) समक्ष सिफारिस गर्नेछन् । एकजनालाई सिधै सिफारिस गर्न मिल्ने भए पनि उपकुलपति सिंहले ‘योग्य मान्छे छान्ने’ भन्दै खुला दरखास्त आह्वान गरेका थिए । अब उपकुलपति सिंहले आफूसमक्ष आएका नामबाटै सिफारिस गर्छन् कि हेरफेर गर्छन् भन्ने हेर्न भने बाँकी छ ।