बुधबार, बैशाख १९, २०८१

भैंसी पालनबाट आत्मनिर्भर बन्दै सुनद्वारीका किसान

  
जगतदल जनाला विक बुधबार, असोज ७, २०७७

सुर्खेत। बराहताल गाउँपालिका–५ सुनद्वारी गाउँका कृषक भैंसी पालनबाट आत्मनिर्भर बनेका छन् ।

८३ घरधुरी रहेको गाउँमा सबैका घरमा २ भन्दा बढी भैंसी पालिएका छन् । यो गाउँका मानिसले गर्ने मुख्य आम्दानीको स्रोतमध्ये भैंसींपालन एक हो । गाउँका प्रत्येक परिवारले कम्तिमा मासिक २२ हजार रुपैयाँको दूध बेच्ने गरेका छन् ।

गाउँका केही कृषकले सरकारी अनुदानमा र केहीले व्यक्तिगतरुपमैं भैंसी पालेका छन् । भैंसी पालनबाट पुरै गाउँ नै आत्मनिर्भर रहेको ‘सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूह’ का अध्यक्ष रत्नलाल सुवेदीले बताए ।

उनले गोरु पाल्नुकोे साटा भैंसी पालेर गाउँको कृषिमा यान्त्रीकरण गर्ने प्रयासमा आफूहरु लागेको बताए ।

‘भैंसी पालन नै सबैको मुखय पेसा हो, २ भैसी भन्दा कम कसैको घरमा छैन । बाली लगाउन गोरुको साटो मेसिनबाट खेती लगाउनेदेखि भित्र्याउनेसम्मको काम गर्छौं,’ अध्यक्ष सुवेदीले भने, ‘भैंसी पाल्छौं, दूध बेचेर आम्दानी गर्छौं त्यसैबाट घर व्यवहार चलेको छ ।’ अबको २ वर्षभित्र गाउँको कृषिलाई यान्त्रीकरण गर्ने योजनामा समूह लागेको उनले बताए ।

यान्त्रीकरणका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म प्रस्ताव गरेको अध्यक्ष सुवेदीले बताए । प्रशस्त पशुपालनबाट मलको अभाव भोग्नु नपरेको बताउँदै उनले गोरुको ठाउँमा भैंसी पाल्न थालेमा मल उत्पादनमा थप वृद्धि हुने बताए ।

गाउँमा सबैले भैंसी पालेका कारण पपनि मलको अभाव नहुने उनले बताए ।

समूहका सचिव गोविन्द पौडेलले कृषकको योजना अनुसार कृषि यन्त्रको पर्याप्तताका लागि स्थानीयसँगै प्रदेश सरकारको विशेष सहयोग खाँचो रहेको बताए ।

पौडेल आफैंले पनि ७ वटा भैंसी पालेका छन् । स्नातकसम्मको अध्ययन पूरा गरी रोजगारीका लागि मलेसिया गएका पौडेलले स्वदेश फर्किएर कृषि पेशालाई व्यावसायिक बनाउन लागेका हुन् । उनी मलेसियाबाट १ वर्षअघि मात्र घर फर्किएका हुन् ।
व्यवसायिक रुपमा भैंसीपालन गरेका पौडेलले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । सरकारी अनुदानसहित उनले भैंसीपालनमा १३ लाख रुपैयाँ लगानी गरेका छन् ।

‘आफ्नो लगानी थोरै भएपनि सरकारी अनुदानको सहयोगले भैंसीपालन सुरु गरेको छु,’ उनले भने, ‘मासिक ८४ हजार रुपैयाँसम्मको दूध बिक्री हुन्छ, खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुन्छ ।’

सुनद्वारी गाउँमा दूध बेचेवापत मासिक ५ लाख रुपैयाँसम्म भित्रिने गरेको छ । गाउँमा रहेको चिस्यान केन्द्रमा कृषकहरुले दूध जम्मा गर्छन् । फ्याटका आधारमा दूधको पैसा पाउने कृषकले लिटरको १०५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन् ।

‘पछिल्लो समय लकडाउनले केही समस्या पारेको छ, नत्र गाउँमा प्रति महिना ५ लाख रुपैयाँसम्म दूधबाट भित्रिन्छ,’ सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष पौडेलले भने, ‘कृषिबाट आत्मनिर्भर बनेको यो गाउँमा धेरै भैंसी पाल्ने कृषकहरुका लागि जनशक्ति पाउन भने समस्या छ ।’

उक्त कृषक समूहमा आवद्ध ४७ जना कृषकलाई पशुपंक्षी तथा कृषि निर्देशनालयको तर्फबाट अनुदानमा भैंसी वितरण गरिएको छ । अध्यक्ष सुवेदीका अनुसार आर्थिक वर्ष ०७५÷७६ ÷ ०७६÷७७ मा गरी ११० वटा भैंसी वितरण गरिएको छ ।

०७६÷७७ मा प्रदेश सरकारको १ लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी १ लाख ३२ हजार बराबरको भैंसी वितरण गरिएको थियो ।

समूहमा आवद्ध कृषक विमला चालिसेले दूध उत्पादनबाट हुने आम्दानीले आफूहरु सन्तुष्ट रहेको बताइन् । उनी गाउँमा कृषि यन्त्रको पहुँच पुगेमा अझ भैंसी थप्ने योजनामा आफू रहेको बताउँछिन् ।