शनिबार, कार्तिक १०, २०८१

बादी समुदायको माग सम्बोधन गर्न विवेकशील साझाको आग्रह

  
कर्णाली टाइम्स शुक्रबार, फागुन १४, २०७७


सुर्खेत । गाँस–बासको माग गर्दै धर्नामा रहेका बादी समुदायको माग सम्बोधन गर्न विवेकशील साझा पार्टीले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । पार्टीको कर्णाली प्रदेश समितिले बिहिवार विज्ञप्ती जारी गर्दै बादी समुदायको माग सम्बोधन गर्न आग्रह गरेको हो ।
धर्नामा रहेका बादी समुदायसँग तत्काल छलफल र वार्ताका माध्यमबाट समस्या समाधान गर्न, उनीहरुलाई मानवीय व्यवहार गर्न, संविधान प्रदत्त गाँसबास र कपासको व्यवस्था गर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
धर्नामा रहेका बादी समुदायका जेष्ठ नागरिक, महिला तथा बालवालिका लगायत आन्दोलित समुदायको आधारभूत आवश्यकता पूरा गर्न, आन्दोलित मानिसहरु बिरामी पर्न थालेकोले उनीहरुको औषधि उपचारको व्यवस्था गर्न प्रदेश सरकारसँग विवेकशीलले अपील गरेको छ ।
‘खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै धर्नामा बसेका यो समुदायको मागप्रति विवेकशील साझा पार्टी कर्णाली प्रदेश समिति ऐक्यवद्धता जाहेर गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउने यो समुदाय पछिल्लो समय संकटमा छ । यो समुदायको समस्यालाई राज्यले तत्काल सम्बोधन गर्न आग्रह गर्दछौं ।’
घरसहितको खेतीयोग्य जमिन माग गर्दै दैलेख, सुर्खेत र कालिकोटका विभिन्न ठाउँमा बस्दै आएका बादी समुदायका ४ सय बढी मानिस चार दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् ।