
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा रहेको दोस्रो अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि बिरामीलाई केही राहत मिलेको छ । अक्सिजनको अभाव भोग्नुपरेका बिरामीहरुका लागि नयाँ प्लान्टबाट केही बिरामीहरुलाई अक्सिजन दिन थालिएको हो ।
नयाँ प्लान्टबाट ४५ जना बिरामीहरुलाई अक्सिजन सुविधा दिन सकिने प्रदेश अस्पतालको कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । ‘अहिले पूर्ण रुपमा सञ्चालनमा आईसकेको छैन, उत्पादन भएको अक्सिजन केही बिरामीहरुका लागि प्रयोगमा ल्याएका छौं,’ डा. पौडेलले भने, ‘राम्रोसँग सञ्चालनमा आईसक्यो भने ४५ जना बिरामीलाई नियमिट अक्सिजन प्रदान गर्न सकिन्छ ।’
नयाँ प्लान्ट निर्माणको काम विगतदेखि नै सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि सामाग्री नआएकाले भनिएकै समयमा सञ्चालन गर्न सकिएको थिएन । आइतबारदेखि मात्र यो प्लान्ट सञ्चालनमा आएको छ ।
कर्णाली प्रदेश अस्पतालको पुरानो भवनमा रहेको अक्सिजन प्लान्टबाट पनि कोभिडका बिरामीहरुलाई अक्सिजन दिन सुरु गरिएको छ । उक्त प्लान्टबाट २० जनालाई अक्सिजन दिईएको डा. पौडेलले बताए ।
अक्सिजन आपूर्तिमा ढिलाई हुन थालेपछि पुरानो भवनमा पनि कोभिड अस्पताल सारिएको छ । नयाँ भवनमा २५ वटा बेड छन् । अस्पतालमा उपचार गराईरहेको कोभिडका बिरामीहर भने ५० जना छन् ।
‘एउटै ठाउँमा राखेर उपचार गराउँदा अक्सिजन नै पुर्याउन गाह्रो हुन थाल्यो, सप्लायर्सले ल्याईपुर्ययाउँदासम्म ढिला भईसक्छ,’ कोरोना फोकल पर्सन डा. पौडेलले भने, ‘पुरानो भवनमा हाम्रो प्लान्ट भएकाले त्यहाँ कोभिडका बिरामीहरु सारेर उपचार गराईरहेका छौं ।
पुरानो भवनमा कोभिड अस्पताल बनाईएपछि त्यहाँ रहेका ओपीडी बाहेकका सेवाहरु नयाँ भवनमा सारिएको उनले बताए ।
कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप बढेको खण्डमा भने अक्सिजनको समस्या भईरहने उनले बताए ।
प्रदेशको मध्यविन्दूमा अस्पताल भएकाले धेरैजसो असामान्य अवस्था भएका बिरामीहरुलाई प्रदेश अस्पतालमा ल्याउन सहज हुन्छ ।
‘अस्पतालमा बिरामीको चाप बढ्यो भने त हाम्रा प्लान्टले मात्र धान्ने कुरै हुँदैन, आपूर्तिको अवस्था अहिले पनि सहज छैन,’ डा. पौडेलले भने, ‘अस्पतालले थेग्न सक्ने चाप हेर्ने हो भने हामीलाई ३०० सिलिन्डर अक्सिजन आवश्यक पर्छ ।’
कर्णाली प्रदेशको ठूलो प्लान्ट जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । उक्त प्लान्टबाट प्रतिमिनेट ३९० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ । तर प्लान्ट सञ्चालनका लागि आवश्यक पर्ने विद्युत नहुँदा सञ्चालनमा आउ सकेको छैन ।
विद्युत नभएकाले केही मात्रामा अक्सिजन उत्पादन गर्न सकिने ‘अक्सिजन वीथ बुस्टर’ प्रतिष्ठानले खरिद गर्न लागेको छ । यसका लागि प्रक्रिया सुरु भईसकेको प्रतिष्ठानका डा. राजीव शाहले जानकारी दिए ।
उक्त बुस्टर जडान गरेपछि भने दैनिक ३०–४० सिलिन्डर अक्सिजन दैनिक भर्न सकिने उनले बताए ।
उनका अनुसार अहिले प्रतिष्ठानमा भएको ७६ केभीए जेनरेटरको पूरै पावर दिएर प्लान्ट सञ्चालन गर्दा पनि उत्पादन गर्न सकिएको छैन ।