सुर्खेत । सुर्खेतमा जेठ १ गतेदेखि हप्तामा तीन दिन मात्र खाद्यान्नका पसल खोल्न पाईने भएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले हप्तामा तीन दिन मात्र खाद्यान्न पसल खोल्न पाईने निर्णय गरेको हो । यसअघि दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र दैनिक उपभोगका सामान किनबेचका लागि खुला गरिएको थियो ।
दैनिक पसल खोल्दा भिँडभाड भएर संक्रमणको जोखिम धेरै भएको भन्दै समितिले यो निर्णय गरेको हो । निर्णय अनुसार आईतबार, मंगलबार र बिहिवार मात्र खाद्यान्नका पसल खोल्न पाईने छ । तरकारी, फलफुल तथा दुध पाईने पसल भने दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाईने छ ।
यस्तै सुर्खेतका स्थानीय तहहरुमा कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि स्थानीय तहहरुले नेपाली सेनालाई गाडी उपलब्ध गराउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको वैठकले नगरपालिकाहरुले दाहसंस्कारका लागि सेनालाई आवश्यक पर्ने एउटा जीप स्थानीय तहहरु मिलेर सेनालाई उपलब्ध गराउने निर्णय गरेको हो ।
पूर्वी क्षेत्रका भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकाले ईन्धनसहित एउटा जीप उपलब्ध गराउने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
यी स्थानीय तहमा कोभिडबाट मृत्यु भएका शव व्यवस्थापनका लागि सेनालाइ घाटसम्म लिन उक्त जीप प्रयोग गरिनेछ । उक्त जीप नेपाली सेनाको छिन्चुस्थित ब्यारेकमा तयारी अवस्थामा राखिनेछ ।
यस्तै जिल्लाका सबै स्थानीय तहहरुले कोभिडबाट मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारको लागि निर्धारित ठाउँसम्म शव लैजान आवश्यक पर्ने सवारीसाधन (सववाहनका रुपमाा) चालकसहित उपलब्ध गराउनुपर्नेछ । यसको समन्वय जिल्ला समन्वय समितिले गर्नेछ ।
यस्तै होटलहरुमा आईसोलशन सञ्चालन गर्न दिने निर्णय पनि गरिएको छ । होम आइसोलेशनमा वा घरभाडामा बसिरहेका संक्रमितलाई पर्याप्त ठाँउको अभाव र पानी तथा शौचालयको असुविधा भएकोले स्वास्थ्य मापदण्डको परिधिभित्र रही होटलहरुलाई आईसोलेशन सञ्चालन गर्न दिईनेछ ।
कर्णाली टाइम्स
मंगलबार, बैशाख २८, २०७८