शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेश सरकारमा काँग्रेसका दुई मन्त्री थपिने

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ २०, २०७८


सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट दुईजना मन्त्री थपिने भएका छन् । सत्ता समीकरण अनुसार काँग्रेसका तर्फबाट दुईजना मन्त्री सरकारमा सहभागी गराउन लागिएको हो ।
हाल खाली रहेको सामाजिक विकास मन्त्रालय र भौति पूर्वाधार मन्त्रालय फुटाएर बनाईएको जलस्रोत मन्त्रालयमा काँग्रेसका दुई जना सांसदलाई मन्त्री बनाउन लागिएको हो । आज वा भोलीसम्म काँग्रेसबाट सहभागी मन्त्रीले सपथ खाईसक्ने छन् ।
वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा साथ दिएको काँग्रेसले यो पटक मन्त्रीमण्डलमा आफ्ना सांसद् पठाउन लागेको हो ।
नेपाली काँग्रेले भने कसलाई मन्त्री बनाएर पठाउने भनेर टुंगो लगाउन बाँकी नै छ । ‘केही नामहरु बाहिर आएका रहेछन्, त्यो अनुमानका भरमा छन्,’ संसदीय दलका नेता जीवन शाहीले भने, ‘हामी कसलाई पठाउने भनेर छलफल गर्दैछौं, अनुमान मिल्ने/नमिल्ने कुरा फरक हो ।’
यसअघि मुख्यमन्त्रीलाई साथ दिन फ्लोर क्रस गरेका एमालेका चार जना सांसद्हरुमध्ये तीन जनालाई मुख्यमन्त्रीले मन्त्री बनाएका छन् । कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अम्मर थापालाई भौतिक पूर्वाधार मन्त्रालय र नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नियुक्त गरिएको हो ।
बुढाले चैत २४ गते सोही मन्त्रालयबाट राजीनामा दिएका थिए । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुढासँगै तत्कालीन सामाजिक विकास मन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पनि राजीनामा दिएका थिए ।
वैशाख ३ गते ज्वालाले पनि फ्लोर क्रस गरी मुख्यमन्त्रीलाइै विश्वासको मत दिलाउन साथ दिएका थिए ।
कर्णाली प्रदेश सभामा अहिले समाभुखसहित ३५ जना सांसद् छन् । जसमा एमालेका १६ (सभामुखसहित), माओवादीका १२, काँग्रेसका ६ र राप्रपाका एक जना छन् । फ्लोर क्रस गरेपछि एमालेका ४ जना र एमाले प्रवेश गरेपछि माओवादीका एकजना सांसदको पद गएको हो ।