बिहीबार, बैशाख २०, २०८१

काँग्रेसबाट सहभागी दुई मन्त्रीले लिए सपथ

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ २३, २०७८
पद तथा गाेपनीयताकाे सपथ लिँदै । सामाजिक विकास मन्त्री यज्ञ बुढाक्षेत्री र उर्जामन्त्री दीनबन्धु श्रेष्ठ ।

सुर्खेत । नेपाली काँग्रेसको तर्फबाट माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । आज दिउँसो २ बजे कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
पहिलोपटक सत्तामा सहभागी भएको काँग्रेस कर्णाली प्रदेश संसदीय दलले यज्ञ बहादुर बुढाक्षेत्री र दीनबन्धु श्रेष्ठलाई सरकारमा सहभागी गराएको हो ।
बुढालाई सामाजिक विकास मन्त्रालय र श्रेष्ठलाई उर्जा तथा जलस्रोत विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले कर्णाली प्रदेश संसदीय दलले फिर्ता लिएको थियो ।
त्यसयता अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वैशाख ३ गते विश्वासको मत लिएका थिए । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई समर्थन गरेको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन एमालेका चार जना सांसदले पनि फ्लोर क्रस गरेका थिए ।
सुरुमा सात सदस्यीय कर्णालीको मन्त्रिपरिषद् अब ८ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित माओवादीका ३ जना, एमालेबाट कारबाहीमा परेको ३ जना र काँग्रेसका दुईजना मन्त्री छन् ।
नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुका लागि १३ बुँदे आचारसंहिता पनि बनाएको छ ।