बिहीबार, बैशाख २०, २०८१

सुर्खेतमा असार १० गतेसम्म थपियो निषेधाज्ञा, पसल भने बिहान ६ देखि ११ बजेसम्म खोल्न पाइने

  
कर्णाली टाइम्स मंगलबार, असार १, २०७८


सुर्खेत । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुर्खेतमा जारी गरिएको निषेधाज्ञा असार १० गतेसम्म लम्बिएको छ । वैशाख १४ गतेबाट सुरु भएको निषेधाज्ञा पटकपटक थप गरी असार १० सम्म पुर्यईएको हो ।
जेठ ३० गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो ।
यो पटक भने निषेधाज्ञामा भने केही खुकुलो बनाईएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालाका अनुसार अहिलेको निषेधाज्ञामा पसलहरु भने सिमित समयसम्म खुल्नेछन् ।
‘पहिले हामीले अत्यावश्यक सामग्रीका पसल मात्र सिमित समयमा खोल्न दिएका थियौं, यो पटक सबै पसलहरु शनिवार बाहेक केही समय खुल्छन् ।’ उनले भने ।
शनिवार बाहेक बिहान ६ बजेदेखि ११ बजेसम्म पसलहरु खुल्नेछन् । अनलाईन तथा टेकअवे सेवा होम डेलिभरी प्रयोजनका लागि वीरेन्द्रनगर उपत्यका भित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईनेछ ।
५० प्रतिशत कर्मचारी मात्र उपस्थित भएर बैंक तथा वित्तीय संस्थाहरु पनि खोल्न मिल्नेछ ।
सार्वजनिक तथा निजी सवारी साधन भने चलाउन पाइने छैन । झण्डाबाहक गाडी, अत्यावश्यक सेवाका सवारीसाधन भने चलाउन पाइन्छ ।