
सुर्खेत। महिलाहरुलाई पैताला चटाउने तीनजना धामीहरु धरौटीमा छुटेका छन्। सुर्खेतको लेकवेशी नगरपालिका-४ दशरथपुरमा भएको कुलपुजामा महिलामाथी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई जनही एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको हो।
सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीले पुस ६ गते कुलपूजाका नाममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवालीलाई पक्राउ गरेको थियो।
आफ्नो अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत् पुस १६ गते अदालतलमा उनीहरूलाई बुझाएको थियो। उनीहरूले महिलामाथि अमानवीय व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो।
यो घटनामा पीडित भनिएकी महिलाकै माइतीघरमा भएको कुलपूजामा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरू (धामी)ले उनीमाथि अमानवीय व्यवहार गरेका थिए। पीडित भनिएकी महिलाले भने जाहेरी नै दिन मानेकी थिइनन्।
कर्णाली टाइम्स
शुक्रबार, पुस २३, २०७८
