
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा एकैघरका चार जनाकाे शव फेला परेको छ। वीरेन्द्रनगर-१० बुँदबुदी गाउँमा तीन बालक र एक महिलाको शव भेटिएको हो।
जाजरकोटको शिवालय गाउँपालिका–४ का ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाका दाजुका पाँच वर्षीय छोरा सम्राटको घरमै शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घरमा कोइला बालेर झ्याल ढोका थुनेर सुत्दा उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। उनीहरूको शुक्रबार रती मृत्यु भएको हो।
घटनाको बारेमा प्रहरीले भने शनिबार मात्र थाह पाएको घटना स्थलमा खटिएका प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए।
जाजरकोटको शिवालय गाउँपालिकामा स्वास्थ्य शाखा संयोजक रहेका उनका श्रीमान कृष्ण बुढा शनिबार राती सुर्खेत आएका छन्। अब शवहरुलाई परीक्षणका लागि अस्पताल पठाउन लागिएको शाहीले बताए।
