आइतवार, पुस ६, २०८२

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सुनाए ७६ दिनयता आफू नेतृत्वको सरकारले गरेका काम

  
कर्णाली टाइम्स सोमवार, माघ ३, २०७८


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू नेतृत्वको सरकारले हालसम्म गरेका कामकारबाहीका बारेमा जानकारी गराएका छन्। सोमबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकारले हालसम्म गरेको विविध काम र प्रगतिबारे सुनाएका हुन्।
मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका हुन्। यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि उनी कर्णालीको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
मुख्यमन्त्री शाहीले हाल कर्णाली प्रदेश सरकारले कोभिडको तेस्रो चरणलाई मध्यनजर गरी प्रतिकार्यको योजना तथा पूर्वाधार निर्माणमा लागेको बताए।
‘नेपालमा ओमिक्रोन भाईरसको संक्रमण बढ्न थालेको छ, कर्णाली प्रदेश पनि त्यसबाट अछुतो रहन सक्दैन,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारका कामलाई अगाडि बढाउँदै गर्दा अब कोभिड–१९ को तेस्रोत लहरसँग जुध्नुपर्ने परिस्थिति आएको छ, प्रदेश सरकार नागरिकको घरआँगनको सरकार हो। त्यसैले जनताको सुरक्षा सरकारको परिहलो प्राथमिकता हो।’
कर्णाली प्रदेश सरकारले ओमिक्रोनको असर न्युनिकरणका लागि स्वास्थ्य संस्थाहरुको सवलीकरण, अक्सिजन प्लान्टहरुको सञ्चालन तथा स्वास्थ्यकर्मी परिचालनमा काम गरिरहेको मुख्यमन्त्री शाहीले बताए।
मुख्यमन्त्री शाहीका अनुसार कोभिड संक्रमणलाई ध्यानमा राखेर एम्बुलेन्स खरिद गर्न सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लालाई २ लाखका दरले रकम पठाईएको छ।
शवबाहन खरिदका लागि विभिन्न जिल्लाहरुलाई ४८ लाख, मेसिनरी औजार खरिदका लागि प्रदेश अस्पताललाई ३८ लाख, जनस्वास्थ्य प्रयोगशालालाई २ करोड रुपैयाँ उपलब्ध प्रदेश सरकारले गराएको छ। यस्तै पञ्चपुरी नगरपालिकालाई कोभिड–१९ व्यवस्थापकीय खर्चको लागि १० लाख रुपैयाँ सरकारले पठाएको छ।
कोभिड प्रतिकार्यका लागि स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई सतर्कताका साथ लाग्न समन्वय गरिएको मुख्यमन्त्री शाहीले बताए।
कर्णाली प्रदेश सरकारका तर्फबाट पाँच लाख रुपैयाँका दरले पठाएर प्रदेश सरकारले स्थापना गरेको कर्णालीका ६६ वटा स्वास्थ्य इकाईहरुको सेवा निरन्तर गरिएको छ। इकाईहरुको सेवा निरन्तर रहे कोभिड प्रतिकार्यमा केही राहत पुग्ने मुख्यमन्त्री शाहीले बताए।
नाकाहरुमा कोरोना परीक्षण, होल्डिङ सेन्टर जस्ता पूर्वाधार निर्माण, विभिन्न जिल्लाहरुमा अक्सिजन प्लान्टहरु स्थापना तथा सञ्चालनमा कर्णाली प्रदेश सरकार केन्द्रित रहेको उनले बताए।
आफ्नो नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण, नियमित कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, अनुगमन र विपद् व्यवस्थापनतर्फ जोड् दिईएको उनले बताए।
चालु आर्थिक बर्षको हालसम्म सातवटा मन्त्रिपरिषद वैठक बसेका छन् भने त्यसबाट १७ वटा निर्णय गरिएको छ ।
यातायात कार्यालयमा विचौलिया हटाउन प्रयासस्वरुव सिसी क्यामरा जडान, अनलाईन दर्ता प्रणालीको व्यवस्थापन जस्ता कार्य कर्णाली प्रदेश सरकारले गरेका कामभित्र मुख्यमन्त्री शाहीले राखेका छन्।
केही दिनअघि मुगुको छाँयाँनाथ रारा नगरपालिकामा–१ गमगढीको वस्तीमा भएको आगलागीका पीडितहरुलाई राहतस्वरुप ६१ लाख ८५ हजार जिल्ला प्रशासनमा पठाईएको छ। उक्त रकममध्ये कतिपय पीडितले पाईसकेका छन्।
विपद् सामग्री खरिदका लागि बोलपत्र आह्वान, अघिल्लो सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारिता बढ्नेगरी बजेट विनियोजन, केही महत्वपूर्ण कार्यविधि स्वीकृत, बाढीपीडितको लागि रकम निकासा जस्ता महत्वपूर्ण कार्य आफ्नो पालामा गरिएको मुख्यमन्त्री शाहीले बताए।
कर्णाली प्रदेशको पछिल्लो मन्त्रिपरिषद हालसम्म मुख्यमन्त्रीसहित तीनजना मात्र सदस्य छन्। बाँकी मुख्यमन्त्रीसहित पाँचवटा मन्त्रालय शाहीले आफैंसँग राखेका छन्।