शुक्रबार, पुस ११, २०८२

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै

  
कर्णाली टाइम्स बिहीबार, माघ ६, २०७८
प्रतिकात्मक तस्विर।

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना कार्य अघि बढाएको छ।

राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो।

आवास गृह निर्माणका लागि चालु आव २०७८/७९ मा प्रदेश सरकारले पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।

‘अतिथि आवास गृहको निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत् अघि बढ्ने छ’, मुख्यमन्त्री शाहीले भने, ‘आवास गृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ।’

कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पुर्‍याउने उद्देश्यले आवास गृह निर्माण गर्न थालिएको उनले बताए।

शिक्षा विकास निर्देशनालय सुर्खेतकी निमित्त निर्देशक दीपा हमालले चालु आव २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण सुरू गरिने बताइन्।

‘आवास गृहको निर्माण चालु आर्थिक वर्षमै सम्पन्न हुन नसकेर बहुवर्षीय योजनामा जान सक्छ’, निर्देशक हमालले भनिन्, ‘परियोजना प्रतिवेदन तयारपश्चात यसको क्षमता कति हो भन्ने थाहा हुन्छ।’ उनका अनुसार अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ सुर्खेतस्थित जग्गा छनोट गरेको छ। रासस