
सुर्खेत। बाँके र सुर्खेतको सिमाना बबईमा रहेको हेल्थ डेस्क छिन्चुमा सारिएको छ। बबईमा पर्याप्त ठाउँ नभएकाले कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकासँग समन्वय गरी छिन्चुमा हेल्थ डेस्क सारेको हो।
भेरीगंगा नगरपालिका–१२ तोलीखोला पुलको पारिपट्टि हेल्थ डेस्क स्थापना गरिएको हो। तेस्रो मुलुक, भारत तथा नेपालका केही ठाउँबाट कर्णाली भित्रिने प्रमुख नाकाका रूपमा रहेको बबईमा उपयुक्त ठाउँ नभएपछि हेल्थ डेस्कलाई छिन्चुमा सारिएको हो।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शनिबारदेखि बबईमा भएको हेल्थ डेस्कलाई छिन्चुमा ल्याएर सञ्चालनमा ल्याईएको हो। नजिकै प्रहरी चौकी पनि भएकाले डेस्कमा भएका स्वास्थ्यकर्मीलाई समन्वय गर्न सहज हुने हुँदा प्रदेश सरकारको अगुवाईमा छिन्चुमा सारिएको उनले बताए।
कोभिड–१९ महामारी सुरू भएदेखि नै हेल्थ डेस्क बबईमा राखिएको थियो। सुर्खेततर्फको भागमा राखिएको डेस्कमा सुर्खेततर्फबाटै प्रहरी तथा स्वास्थ्यकर्मी खटाईएको थियो। कर्णाली प्रदेश सरकारले होल्डिङ सेन्टर पनि छिन्चुमा नै बनाउने लागेकाले हेल्थ डेस्क सारिएको प्रजिअ अधिकारीले बताए।
छिन्चुमा चेकजाँदेखि होल्डिङ सेन्टरको व्यवस्था गर्ने भनिए पनि प्रभाकारी नभएकाले छिन्चुमा सारिएको भेरीगंगा नगरपालिकाले जनाएको छ। छिन्चुमा सारिएको होल्डिङ सेन्टरमा दुई जना स्वास्थ्यकर्मी भेरीगंगा नगरपालिकाले खटाएको छ । कर्णाली प्रदेश सरकारले तीन जना स्वास्थ्यकर्मी खटाएको छ।
कर्णाली टाइम्स
मंगलबार, माघ ११, २०७८
