मंगलबार, कार्तिक ४, २०८२

राजनीतिमै लागेकाले श्रीमान मारिए, दुर्गाले चटक्कै राजनीति छोडिनन्, २१ बर्षपछि बनिन् सांसद

श्रीमान मारिएको २१ बर्षपछि राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्दा खुसीका आँशु बगाउन पाएकी थिईन् दुर्गाले

  
कर्णाली टाइम्स बुधबार, माघ १९, २०७८
राष्ट्रिय सभा सदस्य दुर्गाकुमारी गुरुङ।

सुर्खेत। माघ १२ गते राष्ट्रिय सभाका सदस्यको लागि तेस्रोपटक निर्वाचन भएको छ। कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका तीन जना सदस्यको पदावधि सकिएपछि उनीहरुको ठाउँमा भएको निर्वाचनमा पछिल्लो गठबन्धनका उम्मेदवारहरुले जितेका छन्।
जसमध्ये महिला कोटाबाट सुर्खेतकी दुर्गाकुमारी गुरुङ पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भईन्।
उनी पहिलो पटक सांसद बनेकी हुन्। गुरुङको अहिलेसम्मको राजनीतिक यात्रा कस्तो छ त?
यसअघि राजनीतिमा निरन्तर सक्रियता नभएपनि उनी आफ्नो जीवनमा राजनीतिक रुपमा योग्दान गरेकी एक महिला हुन्।
पुस २१ गते मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुअघि पार्टी कार्यालयमा भएको भेटघाटमा गुरुङ्ले खुसीका आँशु बगाईन्। आफू जीत सुनिश्चित भएको अवस्थामा माथिल्लो सदनको सांसद्को टिकट पाएपछि उनले खुसी थाम्न सकिनन्।
श्रीमान मारिँदा दुखका आँशु बगाएकी दुर्गाले त्यसको २१ बर्षपछि खुसीका आँशु पनि बगाउन पाएकी छिन्। २०५८ सालअघि श्रीमानसँगै राजनीतिमा सक्रिय बनेकी उनी श्रीमान मारिएपछि त्यति सक्रीय हुन पाएकी थिईनन्। अबदेखि उनको राजनीतिक यात्रा फेरि सक्रिय बनेको छ।
खासमा उनको राजनीतिक यात्रा विवाहपछि सुरु हुन्छ। २०३६ सालदेखि नै काँग्रेसको विद्यर्थी राजनीति गरिरहेका सुर्खेतका यज्ञ गुरुङसँग विवाह गरेकी उनी विवाहपछि श्रीमान हिँडेकै बाटोमा लागिन्।
२०५८ सालमा दुर्गा महिला संघको जिल्ला कमिटीमा थिईन्। उनका श्रीमान यज्ञ गुरुङ नेपाल विद्यार्थी संघ सुर्खेतको अध्यक्ष थिए। उनी जिल्ला खेलकुद विकास समितिको पनि त्यही बेला अध्यक्ष थिए।
२०५८ साल पुस २७ गते दुर्गाका श्रीमानको हत्या भयो। त्यसबेला देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो। तत्कालिन सशस्त्र द्वन्द्वमा होमिएको माओवादी पक्षले आफ्ना श्रीमानलाई मारेको उनको बुझाई छ।
उनका एकजना छोरा छन्। पुस २७ गते घरमा सपरिवार बसेर खाना खाईरहेका बेला आएका दुईजना मानिसले यज्ञ गुरुङको कन्चट र छातीमा गोली हानेका थिए।
‘माओवादी पक्षसँग कुनै दुस्मनी थिएन, तैपनि यस्तो अवस्थामा बचेर हिँड्नुस् भनेर मैंले श्रीमानलाई भनिरहन्थेँ,’ दुर्गाले भनिन्, ‘उहाँले सबैलाई सहयोग गर्ने, आवश्यक सल्लाह दिने पनि गर्नुहुन्थ्यो। विनाकारण अरुबाट मारिनुभयो।’ उनका छोरा त्यतिबेला ९ बर्षका थिए ।
दुर्गाका अनुसार उदयले सहयोग गर्ने कुरामा पार्टी हेर्थेनन् रे।
‘गोली हानिसकेपछि उहाँको हालत के भयो थाह भएन, म भने बेहोस् भएछु,’ दुर्गाले सुनाईन्, ‘घर नजिकै रहेको रेडियो नेपालको सुरक्षार्थ नेपाली सेनाको टोली बस्थ्यो, सेनालाई यो कुरा छिमेकीले सुनाएछन्। सेनाले केन्द्रबाट आदेश आउनुपर्छ भनेर भनेछन्।’
२०३६ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनका श्रीमान विद्यार्थी त्यसभन्दा माथि उठ्न नपाउँदै मारिए।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेपछि काँग्रेसको सुर्खेतस्थित पार्टी कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सहभागी दुर्गाकुमारी गुरुङ।

श्रीमानको मृत्युपछि दुर्गाले केही बर्ष राजनीतिलाई निरन्तरता दिईन्। उनी नेपाल महिला संघ सुर्खेतको सचिव पनि बनिन्।
त्यसपछि भने उनी राजनीतिमा सक्रियताका साथ लाग्न सकिनन्। छोरा ठूलो हुँदै गए। छोरालाई सुर्खेतमै राखेर पढाउन दुर्गालाई जोखिम महसुस भयो। उनले छोरालाई लिएर काठमाडौं गईन्।
‘परिवारको मुख्य सदस्य नै नरहेपछि छोराको पालनपोषणदेखि पढाईसम्मको जिम्मेवारी एक्लै निर्वाह गर्नुपर्ने भयो,’ उनले भनिन्, ‘श्रीमान मारिएपछि पनि द्वन्द्व सकिएको थिएन, छोरालाई सुर्खेतमै राखेर पढाउन खतरा जस्तो लागेर काठमाडौं लिएर गएँ।’
उनले छोरालाई काठमाडौं लिएर बुढानिलकण्ठ स्कुलमा कक्षा ४ मा भर्ना गरिन्। बुढानिलकण्ठमा कक्षा ८ सम्म पढेपछि दुर्गाका छोराले अर्को स्कुलमा पढ्नुपर्ने भयो।
सहिद परिवार भएकाले त्यसपछि बाहिरको स्कुलमा १० कक्षासम्म पढ्न बुढानिलकण्ठले नै शुल्क सहयोग गरिदियो। छोराले एसएलसी पास गरेपछि कलेज पढ्न गए। ११ र १२ कक्षासम्म पनि शुल्क नतिर्नेगरी एउटा कलेजले पढायो।
छोरालाई काठमाडौंमा पढाउन र आमाछोरा बस्नदेखि खानासम्मका लागि उनको सुर्खेतमा भएको घरबाट आउने भाडा मुख्य स्रोत बन्यो। त्यतिबेलैदेखि दुर्गाको सुर्खेतको घरमा बोर्डिङ स्कुल थियो। त्यसबाट आउने भाडाले छोराको पढाई खर्च धानिन्थ्यो। कोठाको भाडा तिर्न भने कहिलेकाहीँ उनले सानोतिनो काम गर्थिन्।
छोराले स्नातक सकाएपछि विवाह गरे। अहिले छोरा र बुहारी युके बस्छन्।
दुर्गा भने काठमाडौंमै बसेर कहिलेकाहीँ राजनीतिक भेटघाट गर्छिन्।
‘छोरा–बुहारीले राजनीति गर्नुपर्दैन, अहिलेसम्म केही योग्दानको मुल्याङ्कन नभएको राजनीति गर्नुभन्दा युकेतिरै बस्न आउनुस् भनेका थिए,’ दुर्गाले भनिन्, ‘तर मलाई राजनीतिमै लागेकाले हत्या गरिएको श्रीमानको उद्देश्य पूरा गर्न पनि मेरो निरन्तरता हुनुपर्छ भनेर लागेकी छु, पार्टीले हाम्रो योग्दानको मुल्याङ्कन पनि गरेको छ।’
उनी यसअघि भएको नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा पनि लडेकी थिईन्। वीरेन्द्रनगर–१ बाट महिला खुलातर्फ उम्मेदवार बनेकी उनी पराजित भईन्।
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा दुर्गालाई नेपाली काँग्रेसले समानुपातिकतर्फ उम्मेद्वार बनाएको थियो। त्यतिबेला काँग्रेसको मत नपुगेपछि उनी सांसद हुनबाट बञ्चित भईन्।
अब राष्ट्रिय सभा सदस्य भईसकेपछि सबैको सल्लाहबमोजिम आफ्नो भूमिका निर्वाह गर्ने दुर्गा बताउँछिन्।
‘अहिले श्रीमान बितेको २१ बर्षपछि पार्टीले योग्दानको मुल्याङ्कन गर्दै राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनायो, यो मेरो राजनीतिक यात्रामा महसुश गरेको ठूलो खुसीको क्षण हो,’ उनले भनिन्, ‘अब सबैको सल्लाहबमोजिम आफ्नो भूमिका निर्वाह गर्नेछु।’