आइतवार, कार्तिक ९, २०८२

सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी

व्यवसायीका माग सम्बोधन नगरी चुनाव घोषणा गरिएको भन्दै आपत्ति, पदाधिकारीभित्रै फरक मत

  
कर्णाली टाइम्स शुक्रबार, माघ २८, २०७८


सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरिएको छ। व्यवसायीहरुले आफ्ना माग सम्बोधन नगरी एकाएक कार्यसमिति चयनका लागि चुनाव घोषणा गरिएको भन्दै तालाबन्दी गरेका हुन्।
चरणबद्ध आन्दोलनको घोषणा गर्दै शुक्रबार दिउँसो व्यवसायीहरुले ताला लगाएका हुन्।
संघका पदाधिकारीहरुको मंसिरमा बसेको वैठकले चैत २६ गटे निर्वाचन गर्ने घोषणा गरेको थियो।
व्वसायीहरुका माग सम्बोधन गर्ने विषयमा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी भित्रै फरक मत छ।
संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले संस्थाभन्दा व्यवसायीहरु बाहिर भएमा संस्था र व्यवसायी दुवैलाई वेफाईदा हुने भएकाले माग सम्बोधन गर्नुपर्ने बताए। ‘११ देखि १२ सय जना व्यवसायीहरु संस्थाबाट बाहिर हुँदा संस्था र व्यवसायी दुवैलाई फाईदा हुँदैन, हामीले पनि उहाँहरुको माग सम्बोधन गर्नुपर्छ भनेका थियौं।’ खड्काले भने।
उनका अनुसार केही व्यवसायीहरुले कोभिडका कारण व्यवसाय नचलेकाले संघमा आवद्ध हुने कुरामा केही राहत दिन माग गरेका थिए। नविकरण नभएका व्यवसायीहरुको हकमा जरिवाना नलगाई पुनः नविकरण गरिदिन संघमा निवेदन दिएको खड्काले बताए।
शुक्रबार नै बसेको कार्यासमितिको वैठकबाट बहुमतले व्यवसायीहरुका माग सम्बोधन नगर्ने निर्णय गरेको छ। त्यसपछि व्यवसायीहरुले ताल्चा लगाएका हुन्।
संघका महासचिव लक्ष्मण कँडेलले भने हालसम्म सुर्खेतका १ हजार ८ सय भन्दा धेरै व्यवसायीले आफ्नो सदस्यता नविकरण गरिसकेकाले बाँकीलाई फागुन २६ गतेभित्र नविकरण गर्न सकिने तर्क गरेका छन्।
उनका अनुसार अब ५ सय जनासम्मको सदस्यता नविकरण गर्न बाँकी छ। दुई बर्षसम्म नविकरण नभएका व्यवसायी सदस्यहरुको नविकरण गर्ने व्यवस्था विधानमै नभएकोले माग सम्बोधन गर्न नसकिने अडानमा केही पदाधिकारीहरु छन्।
कतिपय पदाधिकारीहरुले भने विधान संशोधन गरेर भएपनि व्यवसायीका सबै माग पूरा गर्नुपर्ने अडान राखेका छन्।
व्यवसायीहरुलाई यसअघि आफ्नो सदस्यता नविकरण गर्न पटकपटक सूचना दिँदा पनि बेवास्ता गरेकोले अहिले यस्तो समस्या आएको महासचिव कँडेलले बताए। निर्वाचनको मिति नै घोषणा भईसकेपछि सदस्यता नविकरण गर्ने व्यवस्था विधानमा नभएकाले माग पूरा गर्न नसकिने उनको भनाई छ।