बुधबार, कार्तिक १२, २०८२

स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु

  
कर्णाली टाइम्स बिहीबार, चैत्र १७, २०७८


सुर्खेत। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइको प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले निर्वाचनको मतपत्र छाप्न जनक शिक्षा केन्द्रलाई दिएको थियो। बिहीबारदेखि परीक्षणको लागि मतपत्र छाप्ने काम सुरु भएको आयोगले जनाएको छ।
आयोगका अनुसार बिहीबार निर्वाचन आयुक्तहरूले छपाइ केन्द्र पुगेर निरीक्षण समेत गरेका छन्। चुनावको लागि आयोगले दुई करोड मतपत्र छाप्न लागेको छ।
यसपालिको निर्वाचनको लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। त्यसको १० प्रतिशत बढी छप्न लागेको आयोगले जनाएको छ।
आयोगले मतपत्र सेतो कागजमा चुनाव चिन्हहरु हरियो बनाउन लागेको छ। त्यसमा मत दिने छापको रंग भने निलो हुने जनाएको छ।
आयोगले केही जिल्लामा मतपत्रको ढुवानी हेलिकप्टरमार्फत् गर्ने समेत तयारी गरेको छ। आयोगले सडक विभागसँग ढुवानी गर्नको लागि बुझ्ने काम गरेको थियो। दुर्गम क्षेत्रका सदरमुकामसम्म सवारी साधन पुगे पनि त्यहाँबाट अरु ठाउँ पुग्न भने समस्या हुने गरेको छ।
आयोगले सुरुमा ढुवानी गर्न कठिन हुने ठाउँको मतपत्र छाप्ने तयारी गरेको छ। काठमाडौं उपत्यकाका महानगरपालिका तथा केही नगरपालिकाको लागि वैशाख १७ गतेपछिमात्रै मतपत्र छाप्ने तयारी आयोगले गरेको छ।