आइतवार, कार्तिक ९, २०८२

समूहबाट छुटेपछि एक्लिएको हिमाली गिद्ध

  
कर्णाली टाइम्स आइतवार, चैत्र २०, २०७८
तस्विर सौजन्य: नविन शाही

सुर्खेत। अहिले काँक्रेबिहार जंगलमा एउटा दुर्लभ पंक्षी हिमाली गिद्ध छ। जो दुई महिनाअघि आफ्नो समूहबाट छुटेको थियो। केही दिन डिभिजन वन कार्यालयमा राखिएको यो गिद्ध एक्लिएको २ महिना बढी भईसकेको छ।
केही समयअघि डिभिजन वन कार्यालय सुर्खेतले नै ‘भल्चर’ प्रजातीको यो गिद्धलाई काँक्रेबिहारमा लिएर छोडिदिएको हो। तर यो सुर्खेमा आएर कसरी एक्लियो भन्ने कुरा एकीन छैन। समूहसँग उडेर आउँदा सुर्खेतको आकाशमा केही अवरोध पुगेपछि यो गिद्ध सामूहिक गन्तव्य पुग्नु अघि नै समूहबाट छुट्टिनुपरेको अनुमान गरिएको छ।
‘समूहमै उडिरहेको बेला सिद्धपाईलातिर भएको बिजुलीको लाईनमा ठोक्किएको हुन सक्छ, त्यसपछि ऊ समूहबाट अलग्गिएको होला भन्ने हाम्रो अनुमान छ,’ काँक्रेबिहारमा भएको यही गिद्धको स्याहार गरिरहेका वीरेन्द्रनगरका नवराज बोहोराले भने, ‘भुइँमा झरेर उड्न नसक्ने भएपछि गिद्धलाई कुकुरले लखेट्न थाले होलान्, त्यसपछि स्थानीयले वन कार्यालयलाई खबर गरिदिएका रहेछन्।’
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले यो गिद्ध सुर्खेत उपत्यका भन्दा माथि झण्डै ३० किलोमिटर आसपासको जंगलमा भेटिएको जानकारी दिए। दुई महिनाअघि उड्न नसक्ने अवस्थामा गिद्ध भेटिएपछि स्थानीयले कार्यालयलाई खबर गरेको उनले बताए।
त्यसपछि यो गिद्धलाई डिभिजन वन कार्यालयले ल्याएर कार्यालयमै राखेको थियो। ‘केही दिन राखेपछि उड्छ कि जस्तो गरेको थियो, यति भएपछि हामीले फेरि जहाँबाट ल्याएको हो त्यही जंगलमा लिएर छोडिदियौं,’ उनले भने, ‘छोडेको दुई साताजति फेरि उड्न सकेन भन्ने खबर स्थानीयले नै गर्नुभयो, अनि यतै तंग्रिन दिउँ भनेर कार्यालयमै ल्याएर आएका थियौं।’
गिद्धलाई चैत ४ गते वन कार्यालयले लिएर काँक्रेबिहार जंगलमा छोडिदियो। जंगलमा अशक्त गिद्ध देखिएपछि चैत ५ गतेदेखि बोहोरालगायतका युवा तथा पशु चिकित्सकले उसको स्यहारसुसार तथा औषधोपचार गरिरहेका छन्।
‘वनले निको नभएपछि काँक्रेबिहारमा ल्याएर छोडिदिएको रहेछ, त्यसपछि हामीले यसलाई सहयोग संकलन गरेर लनिरन्तर स्याहार गर्दैछौं।’ बोहोराले भने।
गिद्ध अहिले तंग्रिदै गएको छ। केही दिनअघिदेखि बिहानको सट्टा दिउँसो खानेकुरा दिन थालिएपछि गिद्धलाई उड्ने अभ्यास भईरहेको बोहोराले बताए।
‘पूर्वतिरको विशेषज्ञहरुसँग परामर्श लिँदा अब दिउँसोमा मासु खुवाऔं भन्ने भयो, बिहान खान पाएपछि उसले आफ्नो कसरत गर्नुनपर्ने हुँदा पनि अभ्यास नहुने रहेछ,’ बोहोरोले भने, ‘अहिले बिहान आफैंले पनि खानेकुरा खोज्न यताउता गर्न थाल्यो, त्यसपछि उसको उड्ने अभ्यास पनि भईरहेको छ।’
अहिले एकबाट अर्को रुखमा उडेर पुग्न सक्ने भएको उनले बताए। सुरुमा यो गिद्ध पटक्कै उड्न सकिरहेको थिएन।
अब एक्लिएको यो गिद्धलाई पूर्ण रुपमा निको बनाउन अरु पनि पहल थालिएको बोहोराले बताए। यसलाई साथी ल्याएर सँगै राख्ने वा समूहमा लिएर छोड्ने भन्ने विषयमा सल्लाह भईरहेको बोहोराले बताए।
‘हामीले वडा कार्यालय र सम्बन्धित सरोकारवाला निकायसँग पनि छलफल सुरु गरेका छौं, यहाँ एक्लै राख्यो भने यसले खासै अभ्यास नगर्ला,’ उनले भने, ‘यसलाई समूहमा लिएर छोड्ने की यतै साथी ल्याईदिने भन्ने योजना बनाउँदै छौं, साथीसँग भयो भने अझ फुर्तिलो बन्न सक्ला भन्ने हो।’
अहिले यो गिद्धलाई दैनिक ८०० ग्राम मासु खुवाउने गरिएको छ। बोहोराका अनुसार काँक्रेबिहारमा रहेको यो हिमाली गिद्धको उपचार तथा स्याहार गर्न काठमाडौं र नवलपरासीका केही गिद्धको उपचार गरेका अनुभवी चिकित्सकहरुसँग पनि परामर्श लिईएको थियो। बाहिरका चिकित्सकसँग परामर्श लिएपछि स्याहार गर्न सहज भएको उनले बताए।
पहिले काँक्रेबिहारभित्रको बाटोनजिकै राखिएको गिद्धलाई टिकटक बनाउन आउने पर्यटकले झन् अवरोध पु¥याउन थालेपछि अहिले जंगलभित्र राखिएको छ।
एक्लिएको हिमाली गिद्धको उपचारमा पशु चिकित्सक डा. सतिष योगी सहभागी छन्। उनका अनुसार गिद्धको बाहिरी शरीरमा कुनै चोट छैन। भित्री रुपमा पनि कुनै रोगको लक्षण नदेखिएको डा. योगीले बताए।
गिद्धलाई पानीको मात्रा कमी हुन नदिन मासुमा उपयुक्त पदार्थ मिसावट गरी खुवाउने गरिएको छ। गिद्धको आँखामा केही समस्या देखिएपछि ‘आई–ड्रप’ पनि प्रयोग गरिएको थियो। अहिले आँखा निको भईसकेको उनले बताए।
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रावतले गिद्धलाई खुला ठाउँ चाहिने ठानेर काँक्रेबिहारमा छोडेको बताए। उनले भने, ‘हामीलाई साँघुरो ठाउँमा राखेर गिद्ध उड्न नसकेको महसुस भएपछि खुला ठाउँ चाहिन्छ की भनेर सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी काँक्रेबिहारमा राखेका हौं।’
खुला ठाउँ भयो भने उड्न सक्ने सम्भावनासँगै मरेपछि पर्यावरणअनुसार मरोस् भनेर गिद्धलाई त्यहाँ छोडिएको रावतले बताए। कुनैपनि पंक्षी वा जनावर आफ्नो वातावरणमा त्यसलाई सिकार गर्ने जनावरले मार्नु वा आफ्नै कालगतिले मर्नुलाई ‘पर्यावरणीय रुपमा मरेको’ मानिन्छ।
यो गिद्धलाई हेर्ने छुट्टै चरा विशेषज्ञहरु यहाँ उपलब्ध नभएकाले किताबमा हेरेर यसलाई ‘भल्चर’ प्रजातिको हिमाली गिद्ध भएको निश्कर्ष आफूहरुले निकालेको रावतले बताए।
बोहोराका अनुसार हिमाली गिद्धको लिंग पहिचान गर्नका लागि डिएनए एकमात्र आधार हो। अनुभवी चिकित्सकहरुसँगको परामर्शपछि यो गिद्धको उमेर औसत आयुको मध्यम भएको बोहोराले बताए।