
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आजदेखि कोभिड विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका बनेको छ। आज एक औपचारिक कार्यक्रम आयोजना गरी कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका बनेको घोषणा गरिएको छ।
नगरपालिकाको कोभिड खोप लगाउन लक्षित जनसंख्या भन्दा १९ प्रतिशत बढीलाई पूर्ण खोप लगाईसकेपछि आजदेखि पूर्ण खोपयुक्त घोषणा गरिएको हो।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीका अनुसार नगरपालिकाभित्र ९९ हजार ९०५ जनालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो। तर चैत २३ गतेसम्म १ लाख १८ हजार ९४६ जनालाई कोभिडको पूर्ण खोप लगाईसकिएको छ। कोभिडको पूर्ण खोप लगाउनेमा पुरुषभन्दा महिला धेरै रहेको गिरीले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका कोभिडविरुद्धको पूर्ण खोपयुक्त पहिलो स्थानीय तह हो ।
पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ स्वयम्सेविका र स्वास्थ्यकर्मी परिचालन गरी सर्वेक्षणसमेत गरिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत पर्शुराम खड्काले बताए। लक्षित जनसंख्यालाई खोप लगाईसकेपछि पनि सबै वडाका टोलहरुमा स्वास्थ्य स्वयमसेविका परिचालन गरी खोप लगाउन बाँकी मानिसको तथ्याङ्क लिएर खोप लगाएको उनले बताए।
वीरेन्द्रनगर नगरपालिकामा नगर अस्पतालसहित १९ वटा स्वास्थ्य संस्था छन्। ती सबै स्वास्थ्य संस्थामा खोप अभियान नियमित चलिरहेको उनले जानकारी दिए।
वीरेन्द्रनगरका स्थानीय र यहाँ बाहिरबाट आएर बसोबास गर्नेहरुलाई समेत पूर्ण खोप लगाईसकेपछि कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्न लागिएको उपमेयर मोहनमाया ढकालले बताईन् ।
कर्णाली टाइम्स
बिहीबार, चैत्र २४, २०७८
