सोमवार, कार्तिक १०, २०८२

स्थानीय तह निर्वाचनः सुर्खेतमा पाँच, जाजरकोट र दैलेखमा चार दलले चुनावी तालमेल गर्ने

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र २५, २०७८


सुर्खेत। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि कर्णालीका केही जिल्लाहरुमा चुनावी तालमेलको सहमति भएको छ। सत्ता गठबन्धन दलहरुको केन्द्रको निर्देशन अनुसार जिल्लाहरुमा पनि चुनावी तालमेल गर्ने, गठबन्ध संयन्त्र बनाउने जस्ता निर्णय गरिएको छ।
गठबन्धनअनुसार सुर्खेतमा पाँचवटा दलले चुनावी तालमेल गर्ने भएका छन्। बिहिवार दलहरुबीच भएको छलफलपछि तालमेल गरी स्थानीय निर्वाचनमा जाने निर्णय गरिएको हो।
नेपाली कांग्रेस, नकेपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चाबीच सुर्खेतमा चुनावी तालमेल गर्ने निर्णय भएको हो।
सुर्खेतका ९ वटै पालिका तथा कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने निर्णय भएको हो। जिल्लामा पाँचवटै दलबाट प्रतिनधित्व हुनेगरी १० जनाको संयन्त्र बनाउने निर्णय पनि गरिएको छ।
जाजरकोटमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
जाजरकोटमा गठबन्धनको कामकारबाही व्यवस्थित बनाउन तथा चुनावको आवश्यक तयारीका लागि गठबन्धन दलका प्रमुखसहित एक दलबाट ३ जना सहभागी हुनेगरी जिल्ला र पालिकास्तरीय संयन्त्र पनि बनाईएको छ।
दैलेखमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच जिल्लामा चुनावी तालमेल हुने भएको छ।
उम्मेदवार छनोटलगायतका कामहरु व्यवस्थित गर्न चारवटै दलका प्रमुखसहितको सात सदस्यीय गठबन्धन संयन्त्र तयार पार्ने निर्णय पनि भएको छ।
तालमेल गरी चुनावमा जाने जिल्लास्थित दलहरुले गठबन्धनमा नकारात्मक प्रभाव पर्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्ति नदिन कार्यकर्तालाई निर्देशनसमेत दिईसकेका छन्।