मंगलबार, कार्तिक ४, २०८२

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन बैशाख ४ गते तोकियो

  
कर्णाली टाइम्स शनिबार, चैत्र २६, २०७८


सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन मिति वैशाख ४ गतेलाई तोकिएको छ। आज तोकिएको निर्वाचन मिति विरुद्ध संघका केही पदाधिकारीले रिट हालेपछि अर्को पटकलाई सार्नुपरेको हो।
असन्तुष्ट व्यवसायीहरुले अदालतमा रिट दायर गरेपछि उच्च अदालत सुर्खेतले चैत २४ गतेसम्म निर्वाचन गतिविधि नगर्न अल्पकालिन आदेश दिएको थियो। २४ गते दुवै पक्षलाई अदालतले बोलाएर गरिएको छलफलपछि अन्तरिम आदेश दिन अस्वीकार गरिएको थियो।
अदालतले अन्तरिम आदेश नदिएपछि २०७९ बैशाख ४ गते सोमबार निर्वाचन मिति तोकिएको हो। निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० देखि दिउँसो ३ बजेसम्म प्रालि, साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश हुनेगरी प्रतिनिधि पठाउने र मतदाता नामावलीमा दावी विरोध गर्ने समय तोकिएको छ।
मतदाताहरुको अन्तिम नामावली पनि आइतबार नै प्रकाशन गर्ने तालिका छ। सोमबार १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता र बेलुका उम्मेदवारहरुको सूची गर्ने कार्यतालिका छ।
यस्तै बैशाख २९ गते बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेद्वारीमाथि दावी विरोध र फिर्ता, अपरान्ह ६ बजे दावी विरोधमा निणर्य गर्ने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
बैशाख २ गते राती १२ बजेसम्म चुनावप्रचार अवधि तोकिएको छ भने बैशाख ४ गते विहान ८ बजेदेखी बेलुका ५ मतदानको समय तय गरिएको छ।
यसअघि व्यवसायीहरुका मागका विषय सम्बोधन गर्ने विषयमा केही पदाधिकारीले नमानेपछि असन्तुष्ट रहेको समूह पनि निर्वाचनमा सहभागी हुने भएको छ। व्यवसायीका माग सम्बोधन गर्नुपर्ने पक्षमा उभिएका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का लगायतका पदाधिकारी तथा सदस्यको पक्षबाट आज तोकिएको निर्वाचनका विरुद्ध रिट परेको थियो।
‘अदालतको निणर्यलाई सम्मान गर्दै हामी चुनावमा सहभागी हुन्छौं, व्यवसायीका मागहरु सम्बोधन गर्ने विषयमा हामी निरन्तर लागेका छौं र पछि पनि लाग्नेछौं।’ खड्काले भने।