शुक्रबार, असार २०, २०८२

सुर्खेत उद्योग वाणिज्य संघमा मनोनायन दर्ता (तस्विरहरु)

  
कर्णाली टाइम्स सोमवार, चैत्र २८, २०७८

सुर्खेत। वैशाख ४ गते तोकिएको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गरिएको छ। संघको नयाँ कार्यसमिति चयनका लागि २०७९ वैशाख ४ गते निर्वाचन तोकिएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताको समय दिईएको थियो। अहिलेका पदाधिकारीमध्येबाट दुई समूहमा उम्मेदवारी दर्ता भएको छ। वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको नेतृत्वमा एक पक्षको उम्मेदवारी परेको छ भने महासचिव लक्ष्मण कँडेलको नेतृत्वमा अर्को समूहको उम्मेदवारी परेको छ।

नयाँ कार्यसमिति चयनका लागि चैत २६ गते तोकिएको निर्वाचनका विरुद्ध असन्तुष्ट व्यवसायीहरुले रिट हालेपछि उच्च अदालत सुर्खेतले चैत २४ गतेसम्म निर्वाचन गतिविधि नगर्न अल्पकालिन आदेश दिएको थियो। २४ गते दुवै पक्षलाई अदालतले बोलाएर गरिएको छलफलपछि अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः वैशाख ४ गतेलाई चुनाव तोकिएको हो।

निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारहरुको सूची प्रकाशन गरिनेछ। भोली बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारीमाथि दावी विरोध र फिर्ता, अपरान्ह ६ बजे दावी विरोधमा निणर्य गर्ने तथा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

चैत ३० गतेदेखि बैशाख २ गतेसम्म चुनाव प्रचारप्रसार अवधि तोकिएको छ। २ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ भने वैशाख ४ गते विहान ८ बजेदेखी बेलुका ५ मतदानको समय तय गरिएको छ।