सोमवार, बैशाख १७, २०८१

मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना, चारजनाको मृत्यु, ३९ घाईते

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ १२, २०७९


सुर्खेत। मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बुधबार मुगुबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार राती ८ बजे दैलेखको आठविस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार बसमा ६२ जना यात्रु थिए। सवार यात्रुमध्ये ३९ जना घाइते रहेको प्रहरीले जनाएको छ। घाईतेहरु सबैलाई बुधवार राती नै अरु गाडीमा उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाईएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर प्रसाद शाहले जानकारी दिए।
प्रहरीका अनुसार बस कर्णाली राजमार्गबाट ४० मिटर तल कर्णाली नदीको किनारमा खसेको छ। बसको ब्रेक फेल भएर दुर्घटनामा परेको चालकको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भने भईरहेको छ।