सुर्खेत। नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्। रिक्त प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दिएकी सत्ता गठबन्धनकी संयुक्त उम्मेदवार भुसालले १४८ मत पाएर निर्वाचित भइन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाइन्।
शुक्रबार प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागिता जनाएनन्।
उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन्। उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन्।
कांग्रेसले यसअघि २०७४ सालमा पनि उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। तर उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्।
उनले कांग्रेस भातृ संगठन नेपाल महिला संघमा महासचिवको रुपमा समेत काम गरेकी थिइन्।
२०५६ मा प्रतिनिधि सभा उम्मेदवार बने पनि पुष्पा पराजित भइन् भने २०६४ सालको संविधान सभामा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्। २०७० सालको निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।
त्यस्तै उनी २०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक तर्फको सूचीमा बसेकी थिइन्।राजनीतिमा सक्रिय हुनुअघि पुष्पा अध्यापनमा समेत संलग्न थिइन्। उनले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन्।
उनी वरिष्ठ अधिवक्तासमेत हुन्।
२०७४ मा उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन्। त्यसयता उपसभामुख पद रिक्त रहेको थियो।
कर्णाली टाइम्स
शुक्रबार, असार ३१, २०७९