शनिबार, असार १४, २०८२

कर्णालीमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

एक हजार १४१ प्रहरी परिचालन, ५३ स्थानमा ट्राफिकसहितको संयुक्त जाँच, १२५ वटा ‘क्यूआरटी’ परिचालन

  
कर्णाली टाइम्स शुक्रबार, असोज ७, २०७९


सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालयलय दशैं–तिहार लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। शुक्रबार सुरक्षाका लागि गरिने क्रियाकलाप, उद्देश्य, चुनौती र रणनीतिसहितको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको सुरक्षा योजनाअनुसार प्रदेशभर प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयबाट ४ हजार १४१ जना प्रहरी परिचालन गरिएको छ।
नियमित चेक प्वाईन्ट ३१ स्थानमा निरन्तर गर्ने, आवश्यकता अनुसार आकस्मिक चेकिङ गर्ने, ५३ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ गर्ने व्यवस्था मिलाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
तत्काल घटना भईहालेमा उद्दार तथा नियन्त्रणका लागि प्रदेशका विभिन्न जिल्लामा १२५ वटा प्रहरीको क्युआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिने कार्यालयले जनाएको छ।
चोरी, तस्करी, लागुऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच टोली खटाउने, झैझगडा, जुवातास, चोरी, माधक पदार्थ सेवन जाँच गर्न ८६ स्थानमा प्रहरी खटाउने, २६५ स्थानमा मोवाईल तथा पैदल गस्ती गर्ने, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटकीय स्थलहरुमा सुरक्षा तथा बजार अनुगमनका लागि ७५ स्थानमा प्रहरी परिचालन गर्ने योजना कर्याालयको छ।
१८ स्थानमा लामो दुरीका सवारी चेकिङ गरिनेछ भने प्रदेशभर २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ।
चाडपर्वको नाममा हुन सक्ने सबै प्रकारका आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्ने, कुनै प्रकारको दुव्र्यवहार तथा आपराधिक घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने, कालोबजारी कृत्रिम अभाव सिर्जना हुन नदिने र गराउनेलाई कानुनी दायरामा ल्याउने, सडक सुरक्षा तथा सुदृढ ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ योजना बनाईएको प्रहरीले जनाएको छ।
चाडबाडका बेला सम्भावित क्राईम हटस्पट पहिचान गर्ने, यसका लागि तालिमप्राप्त कुकुरसहितको टोली बनाउने, सिसी क्यामरा, सवारीको गती चेक गर्ने राडार गनलगायतका प्रविधिको उच्चतम प्रयोग गर्ने रणनीति प्रदेश प्रहरीको छ।
गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवातास जस्ता आपराधिक घटना, ट्राफिक नियमको उल्लंघन तथा सवारी दुर्घटना, महिला तथा बालबालिकामाथि हुन सक्ने दुव्र्यवहार, चाडपर्वको अवसरमा हुने लागुऔषध बेचविखन एवम् ओसारपसार, भन्सार तस्करी, अवैध हातहतियारको ओसारपसार जस्ता चुनौती रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।