सुर्खेत। कर्णाली प्रदेशस्थित राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचनको बेलामा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। सेभ द चिल्ड्रेनको सहयोगमा बालअधिकारका लागि साझा अभियानले आइतबार सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा सहभागी दलका प्रतिनिधिहरुले निर्वाचनमा बालबालिकाको प्रयोग आफूले नगर्ने र त्यसलाई रोक्न पनि भूमिका खेल्ने बताएका छन्।
बाल अधिकारको रक्षा गर्दै निर्वाचन आचारसंहिता अनुसार मात्र निर्वाचनमा दलहरु सहभागी हुने उनीहरुले बताए।
‘आउँदो निर्वाचनमा बालवालिकालाई प्रचारप्रसारमा लगाउने, पर्चा–पम्प्लेट बाँड्ने जस्ता कार्य गर्न लगाईयो भने प्रदेशमा मैंले जिम्मा लिन्छु, त्यस्तो गरिएको खण्डमा हामी नेता तथा कार्यकर्तालाई कारबाही पनि गर्छौं।’ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति धिरजबहादुर वलीले भने।
निर्वाचनमा बालवालिका प्रयोग गरेका घटना सार्वजनिक गर्ने तर सम्बन्धित दल वा व्यक्तिलाई कारबाही नगर्ने परिपाटीले बालवालिकाको प्रयोग न्युनिकरण गर्न समस्या भएको उनले बताए।
बालवालिकाको अधिकार संरक्षण र उनीहरुको विकासको लागि आफूहरु तत्पर रहेकोले निर्वाचनमा बालवालिका प्रयोग नगर्ने कुरामा प्रतिबद्ध रहेको नेकपा माओवादीका कर्णाली प्रदेश सदस्य अर्जुनकुमार कटुवालले बताए।
‘चुनावी माहोलमा बालवालिका प्रयोग भएकै छन्, त्यसलाई अन्त्य गर्न सबे दलहरुले प्रतिबद्धता जनाउनु आवश्यक छ,’ जनता समाजवादी खेमराज अर्यालले भने, ‘बालवालिकालाई चुनावमा प्रयोग हुन नदिनु हाम्रो दायित्व हो, हामी हाम्रो पार्टीका तर्फबाट त्यसो हुन दिँदैनौं।’
बालवालिकाहरु केही आशा र निर्वाचनको माहोलमा हुने ¥यालीमा रमाईले देखेर झण्डा बोक्ने गरेकाले यसलाई रोक्न विद्यालयबाटै शिक्षा दिनुपर्ने उनले बताए।
दलहरु सामाजिक अभियानता र सचेत नागरिककको सञ्जाल भएकाले बालवालिकाको संरक्षणमा ध्यान दिनुपर्ने नेकपा एमालेका प्रदेश सदस्य हरिहरनाथ योगीले बताए। निर्वाचन आचारसंहितालाई तल्लो तहका कार्यकर्तासम्म पु¥याएर आगामी निर्वाचनमा बालवालिकाको प्रयोग नहुने वातावरण एमालेले सिर्जना गर्ने उनले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सदस्य अशोक थापाले पनि आफ्नो दलले बालवालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए।
कर्णाली टाइम्स
आइतवार, असोज ९, २०७९