बिहीबार, बैशाख २०, २०८१

यी हुन् कर्णालीमा अहिलेसम्म प्रदेश सभा सदस्य जितेकाहरु

३ क्षेत्रमा काँग्रेस, एउटामा एमाले निर्वाचित

  
कर्णाली टाइम्स बुधबार, मंसिर ७, २०७९

सुर्खेत। मतगणना सुरु भएयता कर्णालीका एउटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा आएको छ। प्रतिनिधि सभातर्फ सुर्खेत-२ र प्रदेश सभातर्फ जाजरकोटका दुई, दैलेख र जुम्लाका एक/एक प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।

सुर्खेत-२ को अन्तिम मतपरिणाम अनुसार नेपाली काँग्रेसका हृदयराम थानीले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। थानीले ३४ हजार ६२५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५८८ मत ल्याएर पराजित भएका छन्।

प्रदेश सभातर्फ मतगणना सकिएका चारवटा निर्वाच क्षेत्रमध्ये जाजरकोटका २ र दैलेखको १ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले जीत हात पारेको छ। जुम्लाको एउटा प्रदेश सभा निर्वाचन क्षेत्रमा भने एमालेले जीत हात पारेको छ।

जाजरकोटमा गठबन्धनबाट उम्मेदवार बनेका राजीव विक्रम शाह र बेदराज सिंह प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका शाह प्रदेश सभा (ख) बाट १६ हजार ४० मतसहित निर्वाचित भएका हुन्। शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारेका छन्। एमाले उम्मेदवार शाहीले १० हजार ५३० मत पाएका छन्।

२०७० सालमा संविधान सभा सदस्य बनेका शाह ०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतसँग पराजित भएका थिए। अहिलेको गठबन्धनअनुसार बस्नेत प्रतिनिधि सभामा लडेपछि राजीव प्रदेशमा लडेका थिए।

जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बेदराज सिंहले १८ हजार ५४३ मत ल्याएका छन्।

कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सिंहले एमालेका उम्मेदवार डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पछाडि पारेका हुन्।

एमाले नेता सिंहले ११ हजार ४७० मत पाए।

प्रदेश सभा सदस्यमा निर्वाचित सिंह ०७४ को निर्वाचनमा पनि प्रदेशमा लडेका थिए। त्यतिबेला माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए।

यस्तै दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन्। उनले प्रतिद्वन्दी नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गरेका हुन्।

खत्रीले ९ हजार ४६४ मत ल्याए भने रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन्। रेग्मी ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेर प्रदेश सभा सदस्य बनेका थिए। अघिल्लो कार्यकालमा उनी एमालेमा गएपछि माओवादीले उनको सांसदबाट पदमुक्त गरेको थियो।

अहिले निर्वाचित खत्री गठबन्धनका साझा उम्मेदवार थिए। उनी नेविसंघ दैलेखको संस्थापक पनि हुन्।

जुम्लाको प्रदेश (ख) बाट नेकपा एमालेका टेकराज पछाईले प्रदेश सभा सदस्यमा जित हात पारेका छन्। नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपसचिवसमेत रहेका पछाईले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकायालाई हराएका हुन्।

पछाईले ७ हजार ८१५ मतसहित प्रदेश सभा सदस्यमा जितेका हुन्। समाजवादीका रोकायाले ६ हजार ७२२ मत ल्याएका छन्।

गठबन्धनबाट उम्मेदवार बने पनि एमालेका उम्मेदवारसँग पराजित भएका रोकाया कर्णाली प्रदेशका वर्तमान भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन्।