आइतवार, जेष्ठ ६, २०८१

‘डाका चोरी’ मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जना कारागार चलान

  
कर्णाली टाइम्स आइतवार, साउन २१, २०८०


सुर्खेत। रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला न्यायाधीश मनोज श्रेष्ठको ईजलासले उनीहरुलाई पूर्पक्षका लागि आइतबार कारागार चलान गर्न आदेश दिएको हो।
विष्टसँगै सोही मुद्दामा पक्राउ परेका सुशील गुरुङ भनिने प्रेम गुरुङ र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ।
उक्त मुद्दामा पक्राउ परेका अरु दुई जना सन्तोष थापा र यामराज शाहीलाई भने २/२ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।
उपभोक्ता समितिबाट रकम लुटेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विष्ट र उनलाई सहयोग गरेको आरोपमा अरु चार जना पक्राउ परेका थिए। उनीहरूविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो।
स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरुविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ रकम लुटेर लिएको आरोप उनीमाथि छ।
घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन गरिसकेको छ।