आइतवार, बैशाख २३, २०८१

विद्युतको राष्ट्रिय प्रसारण लाईनमा जोडियो मुगु

  
कर्णाली टाइम्स सोमवार, भदौ २५, २०८०


सुर्खेत। मुगु जिल्ला पनि विद्युतको राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ। नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जोडिएको ३३ केभी प्रसारण लाइनलाई नाग्मा ट्यापिङ गरी मुगु पु¥याईएको हो। करिब ८५ किलोमिटर प्रसारण लाइन निर्माण गरी मुगुको सदरमुकामसम्म राष्ट्रिय प्रसारण लाई पु¥याईएको हो।
प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति दिन सुरु गरेको छ। यसअघि प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो।
मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ। हुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पु¥याउन ठेक्का भईसकेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत समय–समयमा बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताए। हाल मुगुमा ३ हजार ५०० घरधुरीमा विद्युत पुगेको छ।
गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको थियो। प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत आपूर्ति सहज गराएको थियो।
मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३÷११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए।