शनिबार, बैशाख १५, २०८१

प्रदेश अस्पताल समृद्धिमा यसरी मिल्यो सफलता

  
डा. डम्बर खड्का मंगलबार, फागुन ८, २०८०

हरेक क्षेत्रको विकासका लागि व्यक्ति एक साधन हो । विकास आफैँ हुँदैन, त्यसमा व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । गाउँ टोल होस् वा समग्र देश, अनि सामाजिक – सार्वजनिक संरचना होस् वा निजी क्षेत्र, जहाँ पनि नेतृत्वको भूमिका महत्वपूर्ण हुने गर्दछ । नेतृत्वको सही दृष्टिकोण (भिजन), कामप्रतिको निष्ठा र इमान्दारिता एवं कार्यकौशल क्षमतामा विकास निर्भर हुन्छ । प्रदेश अस्पताल आजको अवस्थामा पुग्नुमा नेतृत्वको भूमिकामात्र होइन उक्त नेतृत्वलाई अस्पतालको आन्तरिक तथा वाह्य क्षेत्रबाट प्राप्त विश्वास महत्वपूर्ण रहेको छ ।

अस्पताल प्रमुखको रूपमा लेख्दै गर्दा म आफ्नो विगत, केही व्यक्तिगत स्वभाव, व्यवहार र सपना पनि उल्लेख गर्ने सान्दर्भिक ठान्दछु । २०५५ सालमा एमबीबीएसको अध्ययन सकेपछि आफ्नो जन्मथलोमा रहेका तत्कालीन जिल्ला अस्पताललाई कार्यक्षेत्र बनाउने निर्णय गरें । हामीलाई थाहा छ- हालको अवस्थामा समेत चिकित्सकहरू कर्णाली आउन आनाकानी गर्छन् । साढे २ दसकअघि उतिबेलाको अवस्थामा डाक्टरहरू सुर्खेत वा कर्णाली आउनु भनेको निकै खुसीको कुरा हुन्थ्यो । २०५६ सालमा जिल्ला अस्पतालमा अप्रेशन गर्ने चिकित्सकको अभाव थियो । त्यसको गहुँगो भार थेग्नुपर्ने अवस्था आयो । यसले मलाई सेवाप्रति थप केन्द्रित गर्यो । सेवाग्राहीको विश्वास आर्जन गर्ने मौका पनि मिल्यो ।

२०६२ सालमा तत्कालीन जिल्ला अस्पताल क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नती भयो । तर जनशक्ति, भौतिक पूर्वाधार, औजार उपकरण, सेवा प्रवाहको हिसाबले जिल्लाभन्दा माथि उठ्न सकेन । दरबन्दीका चिकित्सकहरू अस्पतालमा नआउने र आए पनि काज मिलाएर अन्यत्र सुविधासम्पन्न अस्पतालमा जाने प्रवृत्ति स्थापित भयो । यसले एक चिकित्सकको रूपमा मलाई निकै दुःखित बनाउँथ्यो । स्थानीयवासीसमेत भएकाले म आफूलाई तोकिएको समयमा ड्यूटी गर्ने चिकित्साकर्मीमात्र होइन, अस्पताल सुधारको एक साधन हुनुपर्छ भन्ने ठान्थें । तर त्यसको लागि आधिकारिक जिम्मेवारीको आवश्यकता पर्दर्थ्यो, जुन मलाई २०७२ मा प्राप्त भयो ।

सिनियर डाक्टर हरि सापकोटा ( स्वर्गीय ) ३ महिना बिदामा बस्नुभएपछि अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खम्बराज थानीले निमित्तको जिम्मेवारी प्रस्ताव गर्नुभयो । मैले सहर्ष स्वीकारें । मैले निमित्तमै रहँदा अस्पताल सुधारको प्रयास थालें मेरो सानैदेखिको बानी सरसफाईमा विशेष ध्यान दिने थियो यसले अस्पतालमा पनि काम गयो । अस्पतालका गन्हाउने शौचालयदेखि बिरामी बस्ने कोठाहरू, खिया लागेका बेडहरूमा मैले ध्यान केन्द्रित गरें । सुधारको सुरूवात सानोतिनो कामबाटै गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । सपना त जति ठूलो पनि देख्न सकिन्छ, तर सार्थक बनाउन समय लाग्छ । त्यसैले सीमित साधन- स्रोतलाई सदुपयोग गरेर तत्कालै सानोतिनो सुधारको काम गर्नुपर्छ भन्ने मेरो सानैदेखिका सोंच थियो ।

निमित्त प्रमुखको जिम्मेवारी पाएपछि मैले ढिलो नगरी रातदिन अस्पतालमा खटाएँ । अहिलेको अस्पतालको स्वरूप (चित्र) उतिबेलै निर्माण भएको मेरो एक सपना थियो अस्पतालको चौतर्फी अभावग्रस्त अवस्थालाई अन्त्य गर्न सबैभन्दा महत्वपूर्ण कुरा बजेट (आर्थिक पक्ष ) थियो । हामीले दीर्घकालीन योजना निर्माण, त्यसका लागि पर्याप्त बजेटको व्यवस्था र योजनाको प्रभावकारी कार्यान्वयन गर्ने नीति तयार गयौं । हाम्रो देशमा प्रभावशाली पहुँचबिना बजेट पाउन सकिँदैन । बजेट वितरण प्रणाली न्यायोचित नहुँदाको प्रभाव सबै क्षेत्रमा पर्ने गरेको छ । यसलाई ख्याल गर्दै हामीले बजेटका लागि प्रदेश तथा केन्द्रका राजनीतिक नेतृत्वसँग सहयोग माग्यौं । विशेषगरी आदरणीय दाजु पूर्णबहादुर खड्का (हाल उपप्रधानमन्त्री तथा रक्षामन्त्री) परिवारको सदस्य पनि हुनुभएको लाभ मैले प्राप्त गरें । आफू संलग्न क्षेत्रको राम्रोको लागि मैले उहाँ र उहाँमार्फत अन्य राजनीतिक नेतृत्वसँग सहयोग माग्न अप्ठेरो मानिनँ । हामीले सहयोग पनि पायौं । यसले अस्पताललाई हालको अवस्थामा पुऱ्याउन निकै सहयोग पुग्यो । राजनीतिक नेतृत्वको सहयोग र सहकार्यबाट हामीले सरकारी क्षेत्रमात्र होइन, दातृ निकायबाट पनि पर्याप्त साथ र सहयोग पायौँ । अत्याधुनिक औजार तथा उपकरणदेखि भौतिक संरचना निर्माणमा सहयोग जुट्यो । आर्थिक पक्षजस्तै सामूहिक भावना पनि अर्को महत्वपूर्ण पक्ष हो ।

वास्तवमै अस्पताल बनाउने ‘मेरो’ होइन, ‘हाम्रो’ हाम्रो सपना थियो । यसका लागि अस्पताल प्रमुखको रूपमा मैले सपनामा सबैलाई समाहित गरें । निमित्त प्रमुखको जिम्मेवारी पाएसँगै बिहान ‘फर्स्ट आवर’ मा नियमित समिक्षा बैठक राखियो । यसले हिजो भएका कमजोरी सुधार्दै आज र भोलि कसरी राम्रो गर्ने भन्ने योजना निर्माणमा सघायो । यसका साथै अस्पतालका महत्वाकांक्षी योजना कार्यान्वयनमा सबैको हातेमालो भयो । यतिमात्र होइन, हामीले अस्पतालमा कार्यरत चिकित्सकका लागि विशेष प्रोत्साहन भत्ताको पहल गयौं । सफल पनि भयौं । यसले सुविधा सम्पन्न ठाउँ छोडेर कर्णालीमा आएका चिकित्सकलाई यहिँ बस्न र कर्तव्यनिष्ठ भएर काम गर्न प्रेरणा प्रदान गर्यो । अस्पतालमा आउने चिकित्सकलाई स्वागत गर्ने संस्कृतिको विकाससँगै काम गर्ने अनुकूल वातावरण निर्माणमा ध्यान दियौं । यसले उहाँहरूलाई ठूलो उत्प्रेरणा प्रदान गर्यो । हामीले प्रदेश सरकारमात्र होइन, संघीय सरकारसँगसमेत समन्वय गरेर चिकित्सक पठाउन आग्रह गर्यौ । एमडी / एमएस गरेका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा भित्र्यायौं ।

गन्ध आउने शौचालय र बेडरूमबाट हामी नयाँ अत्याधुनिक भवनमा त सय, तर स्तरीय र उच्च तहको स्वास्थ्य सेवा प्रदान नगर्दासम्म अस्पतालप्रति जनताको विश्वास बढ्न सक्दैनथ्यो । पछिल्लो समय हामीले यसमै ध्यान केन्द्रित गर्यो । एमआरआई मेसिन खरिददेखि जटिल खालका रोगको उपचार सुरू गयौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग समन्वय गरेर मृगौला प्रत्यारोपण सेवा सुरू गर्यो । ‘हिप रिप्लेसमेन्ट’, न्यूरो, स्पाइनल, मुटुरोग उपचारजस्ता जटिल खालका स्वास्थ्य सेवा पनि सुरू गर्यौ । यसले अस्पतालप्रतिको जनताको विश्वास र भरोसा बढ्यो ।

कोभिड-१९ (कोरोना) व्यक्तिगत रूपमा मेरो र संस्थागत रूपमा प्रदेश अस्पतालको जीवन निम्तिएको ठूलो परीक्षा थियो । विश्वका विकसित देशमा ठूलो क्षति पुऱ्याइरहेको कोरोना महामारी हाम्रोजस्तो विकासोन्मुख देशको सबैभन्दा पिछडिएको कर्णाली प्रदेशमा प्रवेश गर्ने निश्चित थियो । चीनमा कोरोना भाइरसको संक्रमण बढ्दो थियो । विश्व स्वास्थ्य संगठनले कोरोनालाई ‘विश्वव्यापी महामारी घोषणा नगरे पनि सचेत र सावधान रहन भनिरहेको थियो । यही आधारमा नेपाल सरकारले २०७६ फागुनमा प्रत्येक अस्पताललाई दुईवटा आइसोलेसन बेडसहित एउटा कोठा तयार गर्न निर्देशन दियो । हामी भने दुई बेडमा सीमित भएनौं ।

प्रदेश सरकारसँग समन्वय गर्दै अस्पतालको नयाँ भवनलाई कोरोना अस्पतालको रूपमा विकास गर्ने योजना बनायौं । अस्पताल हाताभित्रकै फिस्टुला उपचार केन्द्रलाई पनि जटिलखाले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने व्यवस्था मिलायौं । लकडाउन भएको तीन महिनाभित्रै प्रदेश अस्पतालमा २ सय आइसोलेसन बेडसहित २५ आइसीयू र १२ भेन्टिलेटर तयार भए । संघीय तथा कर्णाली प्रदेश सरकार, नेपाली सेना, युनिसेफ र कुमारी ट्रस्टसँगको सहयोगमा छोटो सयममा अस्पतालमा करिब ६ करोड रूपैयाँको पूर्वाधार थपियो । २०७६ जेठ ६ गते कर्णालीमा पहिलो कोरोना संक्रमित देखिँदासम्म हामीले फिभर क्लिनिकदेखि चिकित्सक र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिसकेका थियौं । विदेशका समाचार सुन्दा डराउने हामी चिकित्सकहरू आफ्नै सामुन्ने कोरोना आइपुग्दा आत्मबल बलियो बनाउँदै उपचारमा तल्लिन भयौं । स्वास्थ्य – सुरक्षानीति अबलम्बन गर्दै संयमतापूर्वक काम गर्दा नागरिकको विश्वास जित्यौं । कोरोनामाथि विजय हाँसिल गर्यो ।

प्रदेश अस्पताल ‘जनताको अस्पताल हो । यसमा जनताको विश्वास रहेन भने अस्पतालको अस्तित्व रहँदैन । यस कुरालाई हामीले सधै ख्याल गरेर काम गर्यो । सकारात्मक सोचका साथ काम गर्यो । राजनीतिलाई प्रवेश दिएनौं । अस्पतालको हित र भलाइका लागि हामी कुनै पनि राजनीतिक दलका नेतालाई सम्मान गर्दै सहयोग माग्न र सहकार्य गर्न अप्ठेरो मानेनौं । यसले गर्दा हामीलाई प्रदेश सरकार वा सामाजिक विकास मन्त्रालयको नेतृत्वमा जो आए पनि सहयोग प्राप्त भइरह्यो । संघीय सरकार र सरकारका निकायको पनि सहयोग रह्यो ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सेवाप्रतिको समर्पणभाव पनि सफलताका महत्वपूर्ण कडी हो । हामीले यसलाई कहिल्यै भाँचिन दिएनौं । घरमा भए पनि विदेशमा भए पनि अस्पताल सधैं मन-मष्तिस्कमा रहिरह्यो । अहिले सोच्दा पनि भावुक हुन्छु, मेरी जीवनसंगीनी स्व. डा. सन्जु खड्काको अन्तेष्टीमा भेरी किनारमा रहँदासमेत बेला-बेला मेरो ध्यान अस्पतालमा जान्थ्यो । सायद यतिबिघ्न माया र प्रेमले होला, प्रदेश अस्पताललाई सबैको भरोसा केन्द्र बनाउन सकिएको । सायद हामी सबैको सपनाले सार्थकता पाउँदै गएको छ ।