आइतवार, बैशाख २३, २०८१

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

  
कर्णाली टाइम्स मंगलबार, चैत्र २७, २०८०


सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मंगलबार बेलुका कँडेलले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेश गरेका थिए।
कँडेलको समर्थकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता एवम निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा रहेका छन्। कँडेललाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनतर्फ एमाले, माओवादी र नेकपा (एस) को समर्थन छ।
सत्ता समीकरण फेरिएपछि कर्णालीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो। सहमति अनुसार यसअघि माओवादीबाट मुख्यमन्त्री रहेका शर्माले चैत २१ गते राजीनामा दिएका थिए।